कोहलपुर,बाँके: बढदो गर्मिका कारण बाँके लगायत तराईका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अत्याधिक प्रभावित भएको छ भने बाँकेमा २ जनाले आफनो ज्यान समेत गुमाएका छन ।
उच्च गर्मी तथा लु का कारण बाँकेमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनार रहेका छन । गर्मीका कारण बेहोस भएका सुनारको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।
खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए।
खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानाए।
यसैगरी नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले बताएकी छिन।
गिरीलाई उपचारका लागि भेरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालको भनाई छ। नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेको लिईरहेका छन ।
पछिल्लो केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। बाँकेको तापमान ४४ डिग्रीभन्दा माथि पुगेपछि गर्मीका कारण सयौं मानिस बिरामी परेका छन्।
अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन्।अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको र अस्पतालहरुमा विरामीको चाप बढेको चिकित्सकले बताएका छन्।