तुलसिपुर: नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले सत्ता समीकरण बदलिने कुनै सम्भावना नरहेको बताएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ माले डाँडामा नेकपा एमालेका नेता श्रीमणि आचार्यको सालिक अनावरण कार्यक्रममा महासचिव पोख्रेलले अहिलेको सत्तासमीकरण २०८४ को निर्वाचन पछिसमेत कायम रहने जिकिर गरे।
देशमा बलियो राजनीतिक शक्ति निर्माणमा दलहरू लाग्नुपर्ने बताउदै महासचिव पोख्रेलले जनताका माग र आवश्यकता पुरानै दलबाटमात्रै सम्भव रहेको बताए।
श्रीमणि आचार्यले दाङको शिक्षा,राजनीतिक तथा सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले दाङ समग्र विकासमा टेवा पुर्याउने टरिगाँउ विमानस्थलको धावनमार्ग विस्तारमा सबैको ध्यान पुगेको उल्लेख गरे।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोख्रेलले सातवटै प्रदेशमध्ये लुम्बिनीले मात्रै संरचना निर्माणको कामलाई अघि बढाएको जिकिर गरे। उनले दाङको सिचाई र खानेपानी दीर्घकालीन समाधानका लागि ग्वारखोला जलाशयलाई अघि बढाउनुपर्ने धारणा राखे।
२०५१ सालमा निर्वाचनका क्रममा बिजौरीमा गोली चल्दा घाइते भएका नेकपा एमालेका तत्कालीन जिल्ला कमिटी सचिव श्रीमणि आचार्यको २०६४ पुस ३ मा उपचारका क्रममा निधन भएको थियो। जनस्तरबाट रकम सङ्कलन गरेर उनको सालिक निमार्ण गरिएको हो ।