बाँके:पश्चिम नेपालको केन्द्र तथा भारतसँग सीमाना गाँसिएको बाँके जिल्ला डेंगु रोगको उच्च जोखिममा देखिएको छ । खुला सीमाना र डेंगुबारे जिल्लामा खासै सचेतना नफैलाइएका कारण यो जिल्ला डेंगुको उच्च जोखिममा रहेको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका हरेक पालिकामा डेंगुको सङ्क्रमण देखिएकाले पनि यसलाई समयमै नियन्त्रण गर्न नसकिए यो रोग झनै फैलिने आशङ्का बढ्दै गएको छ ।
बाँकेमा चालु आर्थिक वर्षको हालसम्म ४०५ जना डेंगुका सङ्क्रमित भेटिएकोले यसको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका डेंगु रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहहरु मध्ये हाल राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छ जना डेंगुका बिरामी रहेका छन् ।
जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान नदिने हो भने अवस्था अतिनै खराब पनि हुनसक्ने डेंगु रोग फोकल पर्सन गौतमको भनाइ छ । उहाँले यो रोग नियन्त्रणका लागि सीमानामा पनि निगरानी बढाउनु आवश्यक रहेको बताउनुभयो ।स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीका अनुसार डेंगुको जोखिम मुख्यगरी जुलाईदेखि नोभेम्बरसम्म हुने गरेकाले अब नियन्त्रण अभियानलाई तीव्र पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले डेंगुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिना यता मात्रै नेपालमा एक हजार २६८ जना डेंगु रोगबाट सङ्क्रमित भएका बिरामी भेटिएको बताउनुभयो । लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयको एक्लो प्रयासले जोखिम कम गर्न नसकिने हुँदा नियन्त्रणका लागि जिल्लाका सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले डेंगु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरुमा सरसफाई अभियान चलाउन निर्देशन दिएको बताउनुभयो । उहाँले सरकारी कार्यालयका साथै नागरिकहरु स्वयंले पनि आफ्ना घर वरपर पानी जम्ने ठाउँहरुको खोजी गरि सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो ।
डेंगुको विषाणुद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । यो लामखुट्टेलाई टाईगर लामखुट्टे भन्ने गरिन्छ । यसले एक पटक मात्रै पनि टोक्दा डेंगी रोग सर्छ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि लाग्न सक्छ ।