१९ मंसिर २०८१, बुधबार

त्रिकोणात्मक प्रेम कथामा ‘मोदीबेनी’को ट्रेलर थप सामग्री
  • न्युज मानसराेवर

 कोहलपुर,बाँके:यही साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडालगायत कलाकारलाई फिचरिङ गरिएको छ ।

काठमाडौंमा बिहीबार एक विशेष कार्यक्रमबीच सार्वजनिक ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ । ट्रेलरमा देखाइने केही दृश्यहरू ‘सरप्राइजिङ’ छन् । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेमलाई सुन्दर ढंगले बुनिएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ ।

चलचित्रमा वर्षा, अमर, प्रवीणसँगै सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्यलगायतको अभिनय छ । यस चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटना भइरहेको पाइने निर्देशक शंकर कोइरालाले बताउनुभयो ।

कार्यक्रममा निर्देशक दीपा श्री निरौलाले ‘मोदीबेनी’को सफलताको शुभकामना दिनुभयो । उहाँले चलचित्रको टिममा निकै ऊर्जा रहेकाले सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री तथा कलाकारहरूले सरोज खनाल, प्रवीण खतिवडा, रेजीना उप्रेती, वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठलगायतले यो चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको सुनाउनुभयो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको छ । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको हो । यसमा उत्सव दाहालले छायांकन र भरत रेग्मीको सम्पादन छ । चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको संगीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर छ ।

चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन छ । ट्राइडेन्ट कन्सेप्टको पोष्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको यस चलचित्रलाई ऋच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

  • ४ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • Nabintech