काठमाडौँ : एसीसी वुमन्स एशिया कप क्रिकेटअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको छ। नेपालले ३ ओभर ५ बल खेल्न बाँकी रहँदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो।
नेपालका लागि सम्झना खड्काले धुवाँधार ब्याटिङ गर्दै अर्धशतक बनाइन्। उनले ३५ बलमा अविजित ७२ रन बनाइन्। उनले ११ चौका प्रहार गरिन्। टी-२० अन्तरराष्ट्रियमा यो सम्झनाको पहिलो अर्धशतक हो भने नेपाली महिला खेलाडीको सर्वाधिक स्कोर पनि हो। अर्को छेउमा ७ बल खेल्दै ७ रन बनाएर पूजा महतो अविजित रहिन्।
नेपालको स्कोर ५ ओभर १ बलमा ३९ रन हुँदा पहिलो विकेटका रुपमा ओपनर सीता रानामगर आउट भइन्। उनले १७ बल खेलेर एक चौका हान्दै ७ रन बनाइन्। उनलाई कविशा एगोदागेको बलमा वैष्णवी महेशले क्याच आउट गरिन्। दोस्रो विकेटका रुपमा १० बलको सामना गरेर २ रन बनाएकी कविता कुँवर आउट भइन्। ७ ओभर ३ बलमा उनलाई एगोदागेले हतचन्दानीको हातबाट क्याच आउट गराउँदा नेपालको स्कोर ५१ रन थियो।
कप्तान इन्दु वर्माले १० बलमा ६ रन बनाएर आउट हुँदा नेपालको कुल स्कोर ११ ओभर १ बलमा ७४ रन थियो। यूएईकी लावन्या केनीको बलमा इशा ओजाले वर्माको क्याच समातिन्। यसपछि क्रिजमा उत्रिएकी नेपालकी पूर्वकप्तान रुबिना क्षेत्री पनि धेरैबेर अडिन सकिनन्। ८ बलमा एक चौकाको सहायताले १० रन बनाएकी उनलाई कविशा एगोदागेले बोल्ड गरिन्। चौथो विकेट खस्दा नेपालले १३ ओभर ३ बलमा ८९ रन बनाएको थियो। नेपालले १४ अतिरिक्त रन पायो।
यूएईले ८ बलरलाई बलिङ गराए पनि २ जनाले मात्र विकेट लिन सफल भए। उसका लागि कविशा एगोदागेले ४ ओभरमा एक ओभर मेडन राख्दै १२ रन ३ विकेट लिइन् भने इशा ओजाले १ विकेट लिइन्। पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जितका लागि ११६ रनको लक्ष्य तेर्स्याएको थियो।
श्रीलंकाको रंगिरि डाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर शुरुवाती ब्याटिङमा तानिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् । कविशा एगोडागेले २२ तथा समीरा धरणिधर्कले १३ रनको योगदान गरिन्। कप्तान ईशा रोहित ओजा १०, तीर्थ सतीश र हिना हतचन्दानीले ९/९ रन बनाउँदा रिनिता राजित ६ रनमा पवेलियन फर्किइन्।
नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३ विकेट तथा सबनम राई र कृतिका मरासिनीले १/१ विकेट हात पारे। प्रतियोगिताअन्तर्गत आजै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ।