९ मंसिर २०८१, आईतवार

नेपालगन्ज एकै दिन दुई जना मृत फेला, खुलेन दुबैको पहिचान
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा एकै दिन दुई जना मृत फेला परेका छन् । एक युवा र एक ज्येष्ठ नागरिक मृत फेला
परेका हुन् । बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नेपालगन्ज १८ मा फेला परेका दुवैको पहिचान खुल्न नसकेको बताएका छन् ।

शवको पहिचान नखुलेपछि बाँके प्रहरीले सूचना जारी गरेर चिन्ने व्यक्तिले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज १८ स्थित धान खेतमा एक युवक पुरुषको शव फेला परेको हो ।

प्रहरीले गहुँकालो वर्णको, कालो कपाल, सेतो टिसर्ट, कालो जिन्स पाइन्ट लगाएको, उचाई ५ फिट ५ इन्च हाइट रहेको २५÷२६ बर्षको युवा मृत फेला परेको हुलिया सार्वजनिक गरेको छ ।

त्यस्तै, नेपालगन्ज–१८ मा ज्येष्ठ नागरिक मृत फेला परेका छन् । प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, गहुँकालो बर्ण, कपाल फुलेको, आकाशी रङको टिसर्ट, भान्टा रङको जिन्स पाईन्ट, हरियो चप्पल लगाएको, ५ फुट २ इन्चको ज्येष्ठ नागरिक मृत फेला परेको हो । प्रहरीले उनको पहिचान पनि गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेले मृत फेला परेका व्यक्तिको पहिचान नखुलेपछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा पहिचानका लागि तस्वीर सहित सार्वजनिक गरेको हो । मृतकको पोष्टमार्टम नभएकाले मृत्युको कारण खुलेको छैन ।

  • १४ श्रावण २०८१, सोमबार प्रकाशित

  • Nabintech