कोहलपुर : कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रका छाडा पशुचौपाया संकलन गरि आज शनिवार राप्ती सोनारी गाउँपालिका वडा नं. २ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा व्यवस्थापन गरिएको छ ।
कोहलपुर नगरपालिका क्षेत्रका छाडा पशुचौपाका कारण सवारी दुर्घटना बढेको, नगर क्षेत्रमा रोपिएका बोटबिरुवा र किसानलाई समेत सास्ती दिएको पाइएपछि कोहलपुर नगर प्रहरी, इलका प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा गौ सेवा धाममा छाडा पशुचौपाया पुर्याइएको नगर प्रहरी प्रमुख बिरबहादुर थापाले जानकारी गराए। नगर क्षेत्रमा रहेका छाडा पशुचौपाया कोहलपुर नगरपालिका १२ चपरगौडीमा रहेको जनज्ञानज्योती बिधालयको खेल मैदानमा जम्मा गरि पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पुर्याइएको छ थापाले भने।
छाडा पशुचौपायाको संरक्षण र व्यवस्थापनका लागि गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरि गौ सेवा धाम पठाइएको कोहलपुर नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले छाडा पशुचौपायाका कारण कोहलपुर नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको उल्लेख गरेका छन।
कोहलपुर नगर क्षेत्रमा छाडा पशुचौपायाका कारण सवारी दुर्घटना भैरहेका छन् । त्योबाट मानवीय क्षती त भएकै छ । पशुचौपाया पनि मरिरहेका छन् । अर्कोतर्फ किसानको बालिनालीमा पनि नोक्सानी भैरहेको गुनासो आइरहेको छ । नगरपालिकाको हरित नगर अभियानमा पनि छाडा पशु चौपाया बाधक भैरहेका छन् ।
यसको व्यवस्थापनका लागि गौ सेवा धामसंग भएको सहमति अनुसार ती पशुचौपाया संकलन गरी पठाइएको हो । यसले एकातिर कोहलपुरमा छाडा पशुचौपायाको समस्या पनि केहिहद सम्म समाधान हुने र अर्कोतर्फ पशुचौपायाको संरक्षण र व्यवस्थापन पनि हाम्रो विश्वास छझ नगर प्रमुख आचार्यले भने ।
कोहलपुर नगर क्षेत्रका छाडा पशुचौपाया संकलन तथा व्यवस्थापनका लागि कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको नेतृत्वमा वडा नं १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, जनप्रतिनिधि, स्थानीयबासी लगायतको समेत सहभागिता रहेको थियो ।