दाङ : दाङमा आइतबार साँझ भएको जिप दुर्घटनाका घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना हुँदा सातजना घाइते भएका थिए।
घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ। घाइते पार्वती केसी र सरीता खड्काको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अटोरिक्सा बगाउँदा बेपत्ता भएकी किशोरीको शव भेटियो
दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक किशोरीको शव फेला परेको छ। शुक्रवार राति तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता भएकी सुर्खेत घर भई तुलसीपुर–४ खाद्रै बस्दै आएकी १६ वर्षीया मञ्जु खड्काको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
बबई गाउँपालिका–५ खयरभट्टीस्थित बबई नदीको किनार पानीमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो। शुक्रवार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नंको अटोरिक्सालाई बगाउँदा उनीसहित दुईजना बेपत्ता भएका थिए।
बेपत्तामध्ये तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आलेको शव शनिवार ग्वारखोलामा भेटिएको थियो। मञ्जु सीताकी नातिनी हुन्। अटोमा ५ जना सवार थिए। चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र ७ वर्षीय सुशान्त आले भने सकुशल छन्।