७ मंसिर २०८१, शुक्रबार

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा
  • न्युज मानसराेवर

ललितपुर: भुटानलाई टाइब्रेकरमा पराजित गर्दै घरेलु टोली नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा टाइब्रेकरमा भुटानलाई चार-एक गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा नेपालका लागि राम थापा, अविनाश स्याङ्ताङ, सिमान्त थापा र गोलरक्षक जियारथ शेखले गोल गर्नुभएको थियो । भुटानका लागि ज्याक्सुन दोर्जीको प्रहारमात्र सफल भयो । भुटानका जिग्मे नाङमेल र दोर्जीको प्रहार नेपालका गोलरक्षक जियारथ शेखले विफल पार्नुभएको थियो ।

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज (सोमबार) हुँदैछ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भएको थियो । खेलको ५६औँ मिनेटमा भजस्टविनको गोलमा भुटानले सुरुवाती अग्रता बनाएको थियो ।

७१औँ मिनेटमा नेपालका अविनाश स्याङ्ताङको फ्रिकिक भुटानी गोलरक्षकले उत्कृष्ट बचाउ गर्नुभएको थियो । खेलको ७७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । किङजाम दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि भुटान १० खेलाडीमा सीमित बनेको थियो । च्याम्पियनसिपमा भुटानले लगातार तीन खेलमा रातो कार्ड पाएको हो ।

भुटान १० खेलाडीमा सीमित बनेलगत्तै निराजन धामीको हेडर गोलमा नेपाल खेलमा फर्किएको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो । फाइनल खेल बुधबार दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाल समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल पुगेको हो । यस्तै भुटान समूह ‘बी’ विजेता हुँदै अन्तिम चारमा पुगेको हो । अब भुटानले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । भारत साबिक विजेता तथ बंगलादेश उपविजेतासमेत हुन् ।

  • १० भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech