बाँके:नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा रेडियो नेपाल बाँके जिल्ला सम्बाददाता पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ। प्रतियोगितामा सहभागी भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख उत्कृष्ट ठहरिएको हो। प्रतियोगितामा साबित्री बिश्वकर्मा दोस्रो र आरती कट्टेल तेस्रो स्थानमा पर्नुभएको छ।
उत्कृष्ट भएसँगै उहाँहरुलाई क्रमशः पाँच हजार, तीन हजार, र दुई हजार रुपैयाँले पुरस्कृत गरिएको छ। लेखनबृति प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए, जसमा बिमला चौधरी, ममता थापा, शिवानी विक, र शाहिदा बानो पनि थिए। प्रतियोगितामा सहभागी सबैलाई नगद एक/एक हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो। मन्त्री कुर्मीले कार्यक्रममा बोल्दै महिलाहरूको क्षमता वृद्धि गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताउनुभयो। उहाँले महिला पत्रकारहरूमा उत्प्रेरणाको भावना विकास गर्ने यस्ता कार्यक्रमहरूलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले पनि कार्यक्रममा महिला पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो। नेपाल प्रेस युनियन बाँकेले गतवर्षदेखि महिला पत्रकार लेखनबृति प्रतियोगिता आयोजना गर्दै आएको छ, जसको उद्देश्य महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु हो।
पुरस्कार छनोट समितिले पत्रकार निरज गौतमको संयोजकत्वमा प्रतियोगिताका उत्कृष्ट लेखको छनोट गरेको थियो। कार्यक्रममा नेपाल प्रेस युनियनको विशेष अंक पनि सार्वजनिक गरिएको थियो, जसमा प्रतियोगितामा सहभागी लेखहरू प्रकाशित गरिएको छ। त्यसैगरी, नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सम्पन्न साधारण सभाले निर्माण गर्ने निर्णय गरिएको एनपियू कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
यसैगरी, सांसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दलका जिल्ला सदस्य वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११, र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।