नेपालगञ्ज: उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले बिरामीको उपचारमा अस्पतालबाट लापरबाही भएको भन्ने जिल्ला अदालत बाँकेको फैसलालाई सदर गरिदिएको छ । मृतकका परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भन्ने जिल्ला अदालतको फैसलालाई उच्चले सदर गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरवारीटोलका मनितलाल श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको थियो । त्यसपछि उहाँकी श्रीमती नम्रता श्रेष्ठले अस्पतालको लापरबाहीका कारण आफ्नो श्रीमानको मृत्यु भएको दाबीसहित २०७६ साल श्रावण ३१ गते जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।
उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालतले २०७९ फागुन ११ गते अस्पतालको लापरबाहीका कारण श्रेष्ठको मृत्यु भएको ठहर गर्दै क्षतिपूर्ति तोकेको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु र गोविन्द जोशीको संयुक्त इजलासले जिल्लाकै फैसलालाई सदर गरेको निर्णय सुनाएको हो ।
ज्वरो आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको इमरजेन्सी वार्डमा पुग्नुभएका मनितलालको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको परिवारको दाबी थियो ।