नेपालगन्ज:पछिल्लो दुई दिनमात्रै नेपाल–भारत सीमावर्ती भारतीय सहर रूपैडिहामा दुई महिला सहित तीन नेपाली सुरक्षाकर्मीको फन्दामा परेका छन् । भारतीय पत्रकार सन्तोष शुक्लले दिएको जानकारी अनुसार, दुई महिला सहित तीन जना ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध सहित सुरक्षाकर्मीको फन्दामा परेका हुन् ।
बिहीबार मात्रै दुई किलो दुई सय ग्राम चरेश सहित रुकुम घर बताउने ४५ बर्षीया सीता घर्तीलाई भारतीय सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । अपराध रोकथाम एवं अपराधी गिरफ्तारी तथा नसालु पदार्थ रोकथाम विरुद्ध परिचालित संयुक्त सुरक्षा टोलीले रूपैडिहामा गरेको चेकजाँचका क्रममा भारत तर्फ जाँदै गरेकी घर्तीलाई पक्राउ गरी तत्काल जिल्ला न्यायालय बहराइच चलान गरिएको सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
प्रहरी चौकी उपनिरीक्षक विजय कुमार, महिला उपनिरीक्षक रोशनी बर्मा, कन्स्टेबल प्रिया पाण्डे सहित एसएसबी ४२औं बाहिनी निरीक्षक सत्यन्द्रकुमार सिंह सहितको टोलीले पक्राउ गरेकी उत्तरगंगा–५ रुकुम घर्तीसँग २ किलो २ सय ग्राम चरेश शरीर भित्र बाँधेर लग्दै गरेको अवस्थामा फेला पारिएको बताइएको छ ।
अघिल्लो दिन मंगलबारमात्रै दुई किलो एक सय ग्राम अफिम सहित रुकुमकै ३९ बर्षीया नरमाया घर्ती र ५० बर्षीय बरिलाल घर्ती पक्राउ गरेका थिए । ‘दुवै जनालाई कानुनी कारवाहीका लागि सम्बन्धित न्यायालय पठाइएको छ’, स्थानीय प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रकार शुल्कले भने, ‘सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी तथा नशाजन्य पदार्थको रोकथामका लागि एसएसबी ४२औं बाहिनीका कमाण्डेन्ट गंगासिंह उदावतको निर्देशनमा संयुक्त चेकजाँचलाई कडाईका साथ अगाडि बढाएको छ ।’
भारतबाट ब्राउनसुगर, नाइट्रोजन लगायतका नसाजन्य पदार्थ नेपाल आउने र नेपालबाट चरेश, अफिम जस्ता लागुऔषध भारत तर्फ जाने गरेको छ । तर, भारतीय सुरक्षाकर्मी भारत तर्फ जाने नशालु पदार्थको नियमन र निगरानीमा कडाई गरेपनि नेपाल तर्फ आउने अवैध लागुऔषध नियन्त्रणमा भने ठोस पहल हुन सकेको देखिंदैन ।