नेपालगञ्ज : दशौं धारा नेपालगञ्ज म्याराथनको प्री-इभेन्टका रूपमा आयोजित नेपालगञ्ज १० किमी नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजकका अनुसार नाइट रनमा लगभग ५० धावकले सहभागिता जनाउने अनुमान गरिएको छ। मङ्गलवार सोही दौडका लागि टी-शर्ट सार्वजनिक गरिएको छ।
असोज ३ गते संविधान दिवसको अवसरमा राति हुने दौडको टी-शर्टलाई नेपालगञ्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगञ्ज म्याराथनका आईटी कन्सल्टेन्ट भानु रेग्मीले संयुक्त रूपमा सार्वजनिक गरे।
टी-शर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको एक दशकको यात्रालाई ‘दशौंमा दस इभेन्ट’ अन्तर्गत जानकारी गराए। असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिवारदेखि साप्ताहिक रन सुरु हुने उनले बताए।
उनले भने, “यो वर्षभरि सञ्चालन हुनेछ। दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक जनालाई पुरस्कृत गरिनेछ। एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ। पहिलो चरणमा नेपालगञ्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ।”
रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन्। बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ। म्याराथनका वरिष्ठ सदस्यहरू हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, र गगन थापाले साप्ताहिक रनमा स्वयंसेवा प्रदान गर्नेछन्।
असोज दोस्रो हप्तादेखि विद्यालय र कलेजहरूमा लेक्चर सिरिज सञ्चालन गरिनेछ। आउटरिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्नेछिन्। त्यसैगरी, कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रीन रनको संयोजन डिबी तामाङले गर्नेछन्।
मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने जानकारी दिइयो। त्यस्तै, फोटो प्रदर्शनीका लागि पहिलोदेखि नवौं संस्करणसम्मका उत्कृष्ट तस्बिरहरूको संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, मंसिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगञ्ज कनक्लेव हुनेछ। यसमा विभिन्न व्यक्ति तथा संघ-संस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ। दशौं कार्यक्रमका रूपमा दशौं धारा नेपालगञ्ज म्याराथन मंसिर २२ गते शनिवार हुने पत्रकार भेटमा जानकारी गराइयो।
विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिवार हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले जनाएको छ।