२९ कार्तिक २०८१, बिहीबार

भारतले पाकिस्तानमा नखेल्ने
  • न्युज मानसराेवर

काठमाडौं :  अन्तर्राष्ट्रिय  क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार करिब तीन महिनापछि हुने च्याम्पियन्स ट्रफीमा खेल्न भारतले पाकिस्तान जान अस्वीकार गरेको जनााएको छ।

पाकिस्तान क्रिकेट बोर्डका प्रवक्ताले आइसिसीबाट भारत च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान आउँदैन भन्ने इमेल प्राप्त भएको जानकारी दिए। पाकिस्तान क्रिकेट बोर्डले थप सल्लाहका लागि आइसिसीको इमेल पाकिस्तान सरकारलाई पठाएको छ। पाकिस्तानले फेबु्रअरी १९ देखि मार्च ९ तारिखसम्म मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीको आयोजना गर्दै छ।

यसअघि च्याम्पियन्स ट्रफी गत वर्षको एसिया कप जस्तै हाइब्रिड हस्टिङ मोडलमा हुन सक्ने अनुमान गरिएको थियो, गत वर्ष पाकिस्तानमा भएको एसिया कपमा भारतका सबै खेल श्रीलङ्कामा खेलिएको थियो तर पाकिस्तानी क्रिकेट  बोर्डका अध्यक्ष मोहसिन नाक्भीले गत शुक्रबार सो मोडललाई च्याम्पियन्स ट्रफीमा स्वीकार गर्न नसक्ने बताएका थिए।   त्यसपछि भारतको यो प्रतिक्रिया आएको हो।

यसैबिच केही महिनाअघि पाकिस्तानले ५० ओभरको एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गरेको थियो। यी दुई देशबिचको राजनीतिक तनावले भारतले सन् २००८ देखि पाकिस्तानको भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

यी दुई देशले एकअर्काविरुद्ध आइसिसीका खेलमा मात्र प्रतिस्पर्धा गर्दै आएका छन्। सन् २०१२ मा पनि पाकिस्तानले द्विपक्षीय एकदिवसीय शृङ्खला खेल्न भारतको भ्रमण गरेको थियो। पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि कराँची, लाहोर र रावलपिन्डीमा रहेका रङ्गशालामा स्तरोन्नति गर्न लाखौँ डलर खर्च गरेको छ।

सो प्रतियोगितामा पाकिस्तान, भारत, बङ्गलादेश, इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानको सहभागिता रहने छ।

  • २८ कार्तिक २०८१, बुधबार प्रकाशित

  • Nabintech