नेपालगन्ज:अन्ततः लामो प्रयासका कारण नेपालगन्ज रंगशाला खेलका लागि खुल्ने भएको छ । आठौं राष्ट्रिय खेलकुदका लागि बनेका खेल पूर्वाधार अझैसम्म उपयोग हुन पाएका थिएनन् । अब भने खेल पूर्वाधार खेलाडीले खेल्न र प्रशिक्षणका लागि प्रयोग गर्न गरी निर्णय भएको । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्जको रंगशालमा फुटबल खेलाडीलाई खेल्न र प्रशिक्षण लिन दिने भएको छ । करिब सात बर्षदेखि खेलका लागि मैदान प्रयोग हुन सकेको थिएन ।
राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो । राखेपले नेपालगन्ज रंगशालमा खेल्न र प्रशिक्षण कार्यक्रम सञ्चालनमा रोक लगाएपछि खेलाडीहरूले विरोध गर्दै आएका थिए । क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले केन्द्रले निर्णय गरेकाले नेपालगन्ज रंगशाला सञ्चालनमा आउने निश्चित भएको बताए । चन्दले माथिबाट निर्णय भएर आइसकेको जानकारी दिंदै भने, ‘कार्यविधि अनुसार रंगशाला खुला गरिने भएकाले त्यसको व्यवस्थापनसँगै दुई चार दिनमै खुला हुनेछ ।’
यसैक्रममा गत कत्तिक २६ गते सचिवस्तरीय निर्णय गरी अहिलेसम्म लगाउँदै आएको प्रतिबन्ध हटाइएको हो । तर यसको जानकारी मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिलाई ढिलो गरी मंसिर ११ गते मात्र प्राप्त भएको छ ।
रंगशाला सञ्चालनमा ल्याउने निर्णयले आफुहरू उत्साहित भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य भोजराज शाहीले प्रतिक्रिया दिए । शाहीको नेतृत्वमा लामो समयदेखि रंगशाला खेलाडीहरूका लागि उपलब्ध हुनुपर्ने भन्दै दबाब सिर्जना गरिएको थियो । ’हामीलाई विश्वास छ अब सुविधासम्पन्न खेल मैदानमा हाम्रा खेलाडीहरू अभ्यास देखि प्रतिस्पर्धा गर्ने सम्मको अवसर पाउने छन् ।’