बाँके:पछिल्लो समयमा बाँकेको नेपालगन्ज लगायतका सहरी क्षेत्रमा बढ्दै गएका ई रिक्सा र अटोले गर्दा सडक दुर्घटना समेत वृद्धि भएकोले सो न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ई रिक्सा र अटोमा रिफ्लेक्टिभ स्टिकर टाँस्न सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार दुर्घटना न्यूनीकरण गर्न ई रिक्सा र अटोमा रिफ्लेक्टीभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको छ । चिसो मौसम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला भिजीबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।
उनले टाढैबाट टल्किने स्टिकर ई रिक्सा र अटोमा लगाउँदा टाढैबाट देखिने र त्यसबाट दुर्घटनामा कमी ल्याउन सकिने भन्दै यो अभियान सुरु गरिएको बताए । रातिको समयमा स्टिकर नहुँदा दुर्घटना हुने भएकोले स्टिकर टाँस्ने अभियानसँगै चालकहरुलाई ट्राफिक नियमबारे जानकारी प्रदान गर्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी पन्तले भने ।
उनले अब सबै खालका सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्न मातहतका युनिटहरुलाई निर्देशन दिइसकेको पनि बताए । ब्याकलाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँस्ने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका वरिष्ठ सइ प्रवीण आचार्यले बताए । उनले पहिलो चरणमा नेपालगन्जबाट रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने अभियान सुरु गरिएको जनाउँदै क्रमशः सो अभियान जिल्लाका कोहलपुर, खजुरा र राँझालगायतका स्थानमा पनि सञ्चालन गरिने जानकारी दिए।