८ पुष २०८१, सोमबार

लुम्बिनी कपमा बाँके फुटबल संघले सहकार्य गर्ने
  • न्युज मानसराेवर

बाँके:नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल सङ्घले सहकार्य गर्ने भएको छ ।  बाँके जिल्ला फुटबल सङ्घको बैठकले नेपालगञ्ज रङ्गशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो ।

अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सहकार्य गरेको बताए ।

उनले भने,‘‘हामी निकै खुसी छौँ । फुटबल भनेको सामूहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरेका हौं ।’’ नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल पश्चिम नेपालकै ठूलो प्रतियोगिता हो । यसअघि प्रतियोगिताको लोगो सार्वजनिक भैसकेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्तरुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गर्नुभएको थियो । फागुनको अन्तिम साता हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।  आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यले प्रतियोगितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘‘बाँके जिल्ला फुटबल सङ्घ फुटबल खेलाडी र फुटबलकर्मीको अभिभावक हो । सङ्घको सहकार्यले हामीलाई थप उत्साही बनाएको छ । यो सहकार्यले प्रतियोगिताको स्तरलाई बढाउन सहयोग गर्नेछ ।’’ प्रतियोगितालाई प्रभावकारी बनाउन अन्य तयारीहरु तीव्र गतिमा अगाडि बढिरहेको शाहले बताए ।

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech