बाँके\केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा आज साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ ।
प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।