बाँके\ नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउबीच भागमा रहेको जुँगे महादेवको मन्दिर पुनर्निर्माण गरिएको छ । मन्दिर पुनर्निर्माण भएपछि यहाँ भक्तजनको चहलपहल बढेको छ ।
साँघुरो र जीर्ण अवस्थामा रहेको जुँगे महादेवको मन्दिर र पुललाई नेपालगञ्ज उपमहानगरपालिकाले पुनः निर्माण गरेको हो । अहिले मन्दिरमा पूजा आजा गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ । यहाँ साँघुरो पुललाई फराकिलो बनाइएको छ । अब फराकिलो पुल बनेका कारण दर्शन गर्न सजिलो भएको नेपालगञ्ज–२१ फुल्टेक्राकी सिर्जना थापाले बताए ।
अहिले बागेश्वरी मन्दिर आउने झक्तजनले जुङ्गे महादेवको दर्शन गर्न थालेका बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले बताए । आकर्षक शैलीको जुँगे महादेवको मन्दिरमा अहिले भक्तजनको चहलपहल बढेको उनको भनाइ छ ।दर्शनार्थीलाई आउने र जाने गरी डोरी बाँधेर अलग–अलग बाटो बनाइएको छ । बागेश्वरी मन्दिरमा दैनिक भक्तजनको घुइँचो लाग्छ । पहिला सीमित व्यक्तिलाई मात्रै जान दिएर जुँगे महादेवको पूर्जा गर्न दिने गरिएको थियो ।
विसं २०७८ साउनमा पुल जोखिमपूर्ण बनेको भन्दै मन्दिरको प्रवेशद्वारमा पूजाआजाको व्यवस्था मिलाई महादेवको मूर्तिसम्म पुग्न रोक लगाइएको थियो । भक्तजनको पुल पुनः निर्माण हुनुपर्ने मागलाई ध्यानमा राखेर २०७९ सालदेखि निर्माणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए । उनका अनुसार, करिब रु। एक करोड नौ लाखको लागतमा मन्दिर पुनः निर्माण गरिएको हो ।