३१ भाद्र २०८२, मंगलवार

पूर्वराजा ज्ञानेन्द्रले भने- देश भित्रैबाट समस्याको समाधान निकालियोस्
  • न्युज मानसराेवर

बाँके\पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा देखिएको समस्याको समाधान देश भित्रैबाट खोज्न आग्रह गरेका छन् ।नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवं निन्दनीय कार्य भएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखि बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको समेत बताएका छन् ।जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौं भन्ने उद्देश्य राखेर गरेको विरोध प्रर्दशन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

  • २४ भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech