बाँके\ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू सधैँ सुशासनको पक्षमा भए पनि भ्रष्टाचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गरेका छन् । भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभूति लेख्दै पोखरेलले आफ्नो पारिवारिक, राजनीतिक र संसदीय यात्राका अन्तरंगहरु सार्वजनिक गरेका छन् ।
जेन जी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि करिब दुई महिना साथीको घरमा बसेको र हिजो देखि फ्ल्याट लिएर पुन डेराको जिन्दगी सुरु भएको पोखरेलले उल्लेख गर्दै जीवनका उतारचढाव भावनात्मक रूपमा सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा लामो वृत्तान्त लेख्दै पोखरेलले आफू पनि संसद भएका बेला प्राडो र पजेरो संस्कृति भित्रिए पनि आफूले त्यस्तो सुविधा नलिएको, गम्भीर प्रकृतिको रोग लाग्दा पनि राज्यबाट उपचार सहयोग नलिएको, लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका बेला पुँजीगत खर्च शतप्रतिशत गरेको र आफूले सम्हालेको अर्थ मन्त्रालयमा समेत बेरुजु शून्य रहेको उल्लेख गरेका छन् ।
‘मैले अहिलेसम्म हरेक काममा आफूलाई आर्थिक अनुशासन र मितव्ययिताका दृष्टिले उदाहरणीय बन्ने र बनाउने प्रयास गरेँ’ पोखरेलले लेखेका छन्, ‘तर भ्रष्टाचार विरोधका नामको कथित आक्रमणमा चर्को निशानामा हाम्रो परिवार पर्न गयो ।’
पोखरेलले आफ्नो परिवारमा दाङमा शिक्षा र समाजसेवाका लागि ३ सय बिगाहा भन्दा बढी जग्गा दान गरेको उल्लेख गरेका छन् । दाजुभाइसँग अंशवण्डा गरेर हाल आफूसँग चार बिगाहा जग्गा रहेको बताएका छन् ।
पोखरेलले आफूले १६ वर्षको उमेर देखि पढाइका लागि घर छोडेको,त्यसपछि राजनीतितर्फ आकर्षित भएको,अध्ययनकै क्रममा बनारस बस्दा नेपाली समुदायसँग मिलेर समाजसेवा र राजनीति गरेको पनि स्मरण गरेका छन् ।
बनारसको पढाइ सकेर नेपाल फर्किएपछि अनेरास्ववियुको नेपाल बन्दका क्रममा घोराहीमा पक्राउ परेको र करिब पाँच महिना जेल जीवन बिताएको पनि पोखरेलले उल्लेख गरेका छन् ।
कोटेश्वरमा रहेका चार आना जग्गा आफ्नी जेठी सासू-सुजिता शाक्यकी दिदी)ले दिएको र दाजुले पुर्ख्यौली सम्पत्ति बेचेर पठाएको पैसाले घर बनाएको प्रष्ट पारेका छन् । ‘अमेरिकामा डिभी परेर जानु भएकी सुजिताकी दिदीले किन्नु भएको चार आनाको घडेरी बैनीलाई दिनुभयो । पैतृक सम्पत्तिको जग्गा बिक्रीबाट दाजुले पठाएको रकमले त्यहाँ घर बनायौँ ’ महासचिव पोखरेलले लेखेका छन् ।
महासचिव पोखरेलले लेखेको लामो स्टाटस यस्तो छ ।














