बाँके\नेकपा एमालेले आज देशैभर जनसभा गर्दैछ । ‘प्रतिगामी षडयन्त्र’विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांस जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । ‘आजको सभाबाट हामी एमाले देशैभर अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौँ,’ गौतमले भने ।
एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ । मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्ने तालिका छ । यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा, अर्का सचिव पद्ध्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने तालिका छ । कोशीका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने भएका छन् ।















