बाँके बैजनाथ । बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना बाँके र २ जना कैलालीका हुन् ।
बाँके बैजनाथ गाउँपालिका–५ की ६२ वर्षीया महिलाको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो । वैशाख १९ गते पीसीआर गरेकी उनलाई २० गते भर्ना गरिएको थियो ।
यस्तै, कैलाली धनगढीका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरेका उनलाई २० गते भर्ना गरिएको थियो । उनको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ९ बजे मृत्यु भएको छ । १७ गते अस्पताल भर्ना भएका उनको १८ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।
खजुरा गाउँपालिका–२ बाँकेको होम आइसोलेसनमा बसेका ६९ वर्षीय पुरुषको आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा राति साढे ११ बजे मृत्यु भएको हो । वैशाख १९ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएदेखि नै होम आइसोलेसन बस्दै आएका थिए ।
वैशाख १४ गते पीसीआर गरेका कैलाली बर्दगोरियाका ८० वर्षीय पुरुषको सोमबार राति ११ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको ११ बजेर ४० मिनेटमा मृत्यु भएको छ । वैशाख १७ गते पीसीआर गरेका उनलाई १८ गते भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट १४३ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आएका १२५ जनाको मृत्यु भइसकेको छ ।