२६ पुष २०८२, शनिबार

एघारौँ राष्ट्रिय महाधिवेशनका फैसलाहरू
  • सूर्य ढकाल

ठूला र पुराना पार्टीहरूले केही गरेनन्, देश पछाडि पर्‍यो, अब छिटो परिवर्तन चाहिन्छ भन्ने भाष्य निर्माण गर्दै ‘जेन्जी’को नाममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, बालुवाटार, सरकारी भवन र औद्योगिक प्रतिष्ठानहरूमा आगजनी गर्ने अराजक आन्दोलनपछि नेकपा एमालेले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाधारीमा लाखौँ जनसहभागितासहित भव्य रूपमा सम्पन्न गरेको छ।

एक दिनमै १० वर्षे सशस्त्र द्वन्द्वले पुर्‍याउन नसकेको भन्दा ६९ गुणा बढी भौतिक क्षति पुर्‍याउने उक्त अराजक गतिविधिले लोकतन्त्र र परिवर्तनको वास्तविक मर्म उजागर गर्न सकेन। यसको ठीक विपरीत, एमालेको महाधिवेशन उद्घाटन समारोहमा देखिएको जनसहभागिताले “ठूला र पुराना पार्टीहरूसँग जनमत छैन” भन्ने भाष्यलाई निर्णायक रूपमा खण्डन गरिदिएको छ। त्यस्तै, “केपी शर्मा ओली पार्टीभित्र अलोकप्रिय छन्” वा “महाधिवेशनपछि कार्यकर्ताले ओलीलाई विस्थापित गर्छन्” भन्ने अनुमानहरू पनि पूर्णतः गलत सावित भएका छन्। वडा, पालिका, जिल्ला र राष्ट्रिय स्तरका भेलाहरूले नेकपा एमाले आज पनि कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको मूल प्रभावशाली शक्ति हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेका छन्।
आन्दोलनको ऐतिहासिक चेतना
२००७ सालको राणाविरोधी आन्दोलन, पञ्चायती तानाशाहीविरुद्धको संघर्ष वा राजतन्त्र विरोधी आन्दोलन—कुनै पनि आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत वा सरकारी संरचनामाथि आगजनी गरिएको थिएन। सहिद गंगालाल श्रेष्ठ २२ वर्षकै उमेरमा सहादत प्राप्त गर्दा उनी ‘जेन्जी’ नै थिए। तर उनले चोरी, लुटपाट र आगजनी गरेर होइन, निरंकुशताको विरुद्ध शौर्यपूर्ण प्रतिरोध गरेर सहादत प्राप्त गरेका थिए। त्यसैले उनी आज पनि सम्मान, श्रद्धा र गर्वका प्रतीक बनेका छन्।
महाधिवेशनका प्रमुख राजनीतिक निष्कर्ष
यही राजनीतिक पृष्ठभूमिमा सम्पन्न नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनले स्पष्ट क्रान्तिकारी कार्यदिशा पारित गरेको छ। केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय समिति लोकतान्त्रिक विधिबाट निर्वाचित भएको छ। तीन पुस्ताको समावेशी नेतृत्व, हिमाल–पहाड–तराईको सन्तुलन, जाति, भाषा, धर्म र संस्कृतिको सम्मान गर्दै समावेशी समानुपातिक सिद्धान्तलाई व्यवहारमा उतारिएको छ।

महाधिवेशनले नेपालको सन्दर्भमा जनवादी तथा समाजवादी राज्य व्यवस्था निर्माणका लागि कम्युनिस्ट पार्टीको नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। सामाजिक–आर्थिक रूपान्तरणलाई मुख्य लक्ष्य बनाउँदै हिंसा, अराजकता, तोडफोड, लुटपाट र आगजनीलाई पूर्ण रूपमा निषेध गर्ने स्पष्ट नीति लिएको छ। शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधिबाट समाज परिवर्तन सम्भव छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्ने दृढ संकल्प व्यक्त गरिएको छ।
वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरण
नेकपा एमाले श्रमजीवी वर्गको सर्वोच्च हितका लागि संगठित क्रान्तिकारी पार्टी हो। मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग नै पार्टी निर्माणको वैचारिक आधार हो। यान्त्रिक नक्कल होइन, नेपाली यथार्थमा आधारित मौलिक मार्गदर्शन आवश्यक छ भन्ने निष्कर्ष महाधिवेशनको अर्को महत्वपूर्ण उपलब्धि हो। हाल देखिएको वैचारिक शिथिलता र संगठनात्मक कमजोरीलाई आत्मसमीक्षाका साथ स्वीकार गर्दै पार्टीले अध्ययन, प्रशिक्षण र वैचारिक बहसलाई थप सुदृढ गर्ने निर्णय गरेको छ। संगठनात्मक आकार मात्र होइन, सदस्यताको गुणस्तर, अनुशासन र निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको छ।
लोकतन्त्र, राष्ट्रवाद र समाजवादको एकता
राष्ट्रियतामाथि प्रहार, लोकतन्त्र र संविधानमाथि भइरहेका आक्रमणहरूलाई परास्त गर्न राष्ट्रवादी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने निष्कर्ष निकालिएको छ। हिंसा र बाह्य हस्तक्षेपबाट होइन, प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्रै श्रमजीवी वर्गका उपलब्धिहरूको रक्षा गर्न सकिन्छ भन्ने स्पष्ट दृष्टिकोण महाधिवेशनले अघि सारेको छ।
निष्कर्ष
नेकपा एमाले आज पनि कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको मूल शक्ति हो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण र जनतासँगको प्रत्यक्ष सम्बन्ध अझ मजबुत बनाउन महाधिवेशनले स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ। यही मार्गचित्र नै आगामी दिनमा समाजवादी नेपाल निर्माणको आधार बन्नेछ।लेखक  ढकाल नेकपा एमालेका केन्द्रीय सदस्य हुन

  • १६ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech