बाँके\१५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउने कार्यक्रम गर्दा पनि सफल हुन नसकेपछि बाँकेमा बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरिएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथको एउटा वडामा हात्तीपाइलेको औषधी खानेहरूको सङ्ख्या निकै कम भएकोले ती पालिकामा १६औं पटक सो औषधी खुवाउने अभियान सुरु गरिएको हो ।
१६औँ पटकको आम औषधी सेवन अभियान बिहीबारदेखि नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।
तथ्याङ्क अनुसार जिल्लामा ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधी सेवन नगरेको पाइएको छ ।सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने भएकाले अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको छ ।










