इटहरी । शब्द, सिर्जना र प्रेरणाको उत्सवका रूपमा परिचित समता साहित्य उत्सवको पाँचौं अध्याय यही माघ १५ गते इलामस्थित समता स्कुलमा आयोजना हुने भएको छ। विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य तथा सिर्जनात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ समता स्कुल पूर्वी कन्सोर्टियमले २०७६ सालदेखि समता स्कुलहरुमा निरन्तर आयोजना गर्दै आएको यो उत्सव यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।
प्रत्येक वर्ष फरक–फरक जिल्लामा आयोजना हुँदै आएको समता साहित्य उत्सवले साहित्यप्रेमी अभिभावक तथा विद्यार्थीहरूका लागि प्रेरणादायी मञ्च प्रदान गर्दै आएको आयोजकको भनाइ छ। उत्सवमा देशका प्रख्यात साहित्यकार तथा कविहरूको बाक्लो उपस्थिति रहने र उनीहरूले आफ्ना साहित्यिक सिर्जना, अनुभव तथा विचार प्रस्तुत गर्दै विद्यार्थीहरूमा भाषा र साहित्यप्रतिको रुचि जगाउने कार्यक्रम रहेको छ।

सन्तोष श्रेष्ठको अगुवाइमा संगठित समता पूर्वी कन्सोर्टियमले यस्ता बौद्धिक तथा सिर्जनात्मक कार्यक्रमलाई प्राथमिकतामा राख्दै निरन्तर आयोजना गर्दै आएको छ। साहित्य उत्सवको संयोजन भने पहिलो संस्करणदेखि नै पूर्वेली कवि विमल बैद्यले गर्दै आएका छन्। उनी समता पूर्वी कन्सोर्टियमका साहित्य दूतसमेत हुन्।
पाँचौं संस्करणको समता साहित्य उत्सवमा यस पटक भारतको दार्जीलिङ, सिक्किम र सिलगुडीसहित झापा, इलाम, पाँचथर र ताप्लेजुङलगायत क्षेत्रका दुई दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
![]()
साहित्यिक सिर्जनाको उत्सवका रूपमा स्थापित हुँदै गएको समता साहित्य उत्सवले विद्यार्थीहरूमा भाषिक चेतना र सृजनशील सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विश्वास आयोजकको छ। यसले नेपाली भाषा साहित्यको बिकास तथा प्रबर्द्धनमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।









