बाँके\लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ। प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा बिहीबार मूल समारोह आयोजना गरिएको हो।
निमित्त प्रमुख सचिव शम्भुप्रसाद मरासिनीको अध्यक्षता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदृढ प्रजातन्त्रले मात्र नागरिकका अधिकार, समृद्धि र विकासका आकांक्षा पूरा गर्न सक्ने विश्वास व्यक्त गरिन्। उनले सबैको साझा प्रयासबाट प्रजातन्त्रलाई थप मजबुत बनाउन सकिने बताइन्।
निमित्त प्रमुख सचिव मरासिनीले संविधानले नागरिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए।आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि प्राप्त उपलब्धिहरूले जनजीविका, स्वतन्त्रता र अधिकारका क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए।
दिवसका अवसरमा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।













