बाँके\हाल गण्डकी प्रदेशका धेरैजसो स्थान र कर्णाली, बागमती तथा कोशीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा पनि वर्षाको प्रभाव बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका अधिकांश पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
विशेषगरी आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र झनै विस्तार हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशीका धेरै स्थान र अन्य तीन प्रदेशका केही स्थानमा वर्षा हुनेछ भने कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको समेत जोखिम रहेको विभागले जनाएको छ । यसपटकको वर्षाका कारण साना खोला खोल्सीहरूमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र सडक अवरुद्ध हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
मौसमविद उज्ज्वल उपाध्यायले वर्षाको प्रभावका कारण त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन् । उनका अनुसार काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र अलिराति ठूलो वर्षा हुने सम्भावना छ ।










