जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र रोल नं १ हेर्ने अवसर मिल्यो। नेपाली सिनेमाको इतिहासकै सर्वाधिक सफल चलचित्र पूर्ण बहादुरको सारङ्गी निर्माण गरेको 7 Seas Cinema को ब्यानरमा बनेको यो चलचित्रले बालमनोविज्ञान, अभिभावकको अपेक्षा र हाम्रो समाजमा “रोल नं १” लाई दिइने महत्वबारे गम्भीर प्रश्न उठाएको छ।
सुरुमा कथा सामान्य लाग्न सक्छ। एउटा गाउँको सामान्य परिवार, आफ्नो छोरालाई राम्रो पढाउन चाहने बुबा र पढाइमा पहिलो हुनुपर्ने दबाब। तर चलचित्र अगाडि बढ्दै जाँदा यो केवल एउटा परिवारको कथा नभएर हामीमध्ये धेरैको कथा रहेछ भन्ने महसुस हुन्छ।
चलचित्रले पढाइमा पहिलो हुनुपर्छ भन्ने सोचले बच्चाको मनमा कस्तो असर पार्छ भन्ने कुरा निकै मार्मिक ढंगले देखाएको छ। कतिपय दृश्य हेर्दा आफ्नै स्कुले जीवन सम्झना आउँछ भने कतिपय दृश्यले आजका अभिभावक र शिक्षकलाई पनि गम्भीर भएर सोच्न बाध्य बनाउँछ।

मुकुन भुसालले निर्वाह गरेको बाबुको भूमिका चलचित्रको मुटु नै हो भन्नुपर्छ। आफ्ना सन्तानको लागी एउटा सामान्य बुबाले गर्ने संघर्ष, त्याग र पीडा उनले यति स्वाभाविक ढंगले प्रस्तुत गरेका छन् कि कतिपय दृश्यमा आफूलाई सम्हाल्न गाह्रो हुन्छ। चलचित्रमा दर्शकलाई भावुक बनाउने धेरै दृश्य छन्, तर आफ्ना सन्तानको सुखका लागि लाचार बाबाले गरेको त्याग देखाउने केही दृश्यले भने गहभर आँसु ल्याइदिन्छ।
बाल कलाकार निर्भिक रेग्मी लगायत अन्य कलाकारहरूले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन्। चलचित्रभर कसैको अभिनय बनावटी लाग्दैन। सबै पात्रहरू आफ्नै गाउँघर वा समाजमा भेटिने मानिसहरू जस्तै लाग्छन्। निर्देशक जौन योन्जनको निर्देशनको सबैभन्दा राम्रो पक्ष भनेको चलचित्रले कुनै ठाउँमा बोझिलो महसुस गराउँदैन। कथा आफ्नै गतिमा बगिरहन्छ र दर्शक कहिले पात्रहरूसँग हाँस्छ, कहिले भावुक हुन्छ, पत्तै हुँदैन। यही कारण चलचित्र अन्त्यसम्म दर्शकलाई बाँधेर राख्न सफल भएको छ।
मलाई व्यक्तिगत रूपमा चलचित्रको अर्को राम्रो पक्ष भनेको त्यसले देखाएको ग्रामीण परिवेश लाग्यो। पुराना रेडियो कार्यक्रम, वडा कार्यालयको वातावरण, राजारानीका तस्बिर र त्यो समयका अन्य स-साना कुराहरूले २०५० सालतिरको नेपाललाई जीवन्त बनाइदिएका छन्। हेर्दै जाँदा पुराना दिनहरू सम्झना आउँछन्।
चलचित्रका केही दृश्यमा प्रकाश अलि कम भएको जस्तो महसुस भए पनि त्यसले चलचित्रको प्रभावमा खासै असर पारेको लागेन। किनभने कथा, अभिनय र पात्रहरूको भावनाले दर्शकलाई निरन्तर बाँधेर राख्छ।
विद्यालय क्षेत्रमा काम गर्ने व्यक्तिको रूपमा हेर्दा यो चलचित्रले एउटा महत्वपूर्ण सन्देश दिएको महसुस भयो। हरेक बच्चा रोल नं १ हुन सक्दैन, तर हरेक बच्चासँग आफ्नै क्षमता र विशेषता हुन्छ। कहिलेकाहीँ हामीले नतिजालाई मात्र महत्व दिँदा बच्चाको भावना र चाहनालाई बेवास्ता गरिरहेका त छैनौँ भन्ने प्रश्न चलचित्रले उठाएको छ।
“हरेक विद्यार्थीको कथा” भनिएको रोल नं १ वास्तवमै धेरै विद्यार्थी, अभिभावक र शिक्षकको कथा हो। चलचित्र सकिएपछि पनि यसले उठाएका प्रश्नहरू मनमा घुमिरहन्छन्। उत्कृष्ट अभिनय, पृथक कथावस्तु, अब्बल सँगीतको मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने नेपाली चलचित्र हेर्न चाहनुहुन्छ भने रोल नं १ एकपटक अवश्य हेर्न लायक चलचित्र हो। जसले हरेक अभिभावकको मस्तिष्कमा तरंग पैदा गर्छ।
मेरो मूल्याङ्कन: ४.९/५











