कोहलपुर\कोहलपुरमा ५ दिने अचार उत्पादन तालिम सम्पन्न गरिएको छ । प्रर्यटन डिभिजन कार्यालय कोहलपुरको आर्थिक तथा सिद्धार्थ एकिकृत समाज विकास कोहलपुरको आयोजनामा ५ दिने अचार उत्पादन तालिम सम्पन्न गरिएको हो ।
तालिम समापन कार्यक्रम बोल्दै लुम्बिनी प्रदेश सांसद सन्जु कुमारी चौधरीले लुम्बिनी प्रदेशका महिला उद्यमशिलतामा पहिला भन्ने मुल नाराका साथ नीति तथा कार्यक्रम तथा आवश्यक बजेटको व्यवस्थापन गरेको बताइन। उनले सरकारले स्थानीय तहसँगको सहकार्यमा महिला उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन।
सांसद थारुले विकास र शासकीय संरचनाका सबै क्षेत्रमा सारभूत लैङ्गिक समानता कायम गर्न लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई सुदृढ गर्दै मूलप्रवाहीकरण गर्ने लुम्बनी सरकारको योजना रहेको बताइन। महिला हकहितको संरक्षण, सम्बर्द्धन, विकास र सशक्तीकरणका लागि संस्थागत प्रबन्ध गर्न प्रदेश महिला विकास परिषद समेत गठन गर्ने योजना रहेको उल्लेख गरिन ।
सांसद चौधरीले उत्पादित अचारकोको बजारीकरण गर्नाका लागि आवश्यक पहल समेत गर्ने बताइन ।उनले गुणस्तर मापन गरी बढी मात्रामा अचार उत्पादन गरे आत्म निर्भर बन्न सकिने औल्याइन। त्यसै गरी कार्यक्रममा बोल्दै प्रर्यटन डिभिजन कार्यालय कोहलपुरका बरिष्ठ अधिकृत कृष्ण बहादुर विष्टले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेसँगको समन्वयनमा एक दिने अचारको गुणस्तर मापनका प्रक्रिया बारे अभिमुखीकरण गरिने बताए।
उनले लुम्बिनी प्रदेश माननीय सन्जु चौधरीको पहलमा अचार तालिमका निम्ति ५ लाख रकम विनियोजन गरिएको उल्लेख गरे ।
उनले ५ दिने अचार तालिम बाट आर्जन गरेका शिपले आत्म निर्भर बन्न उत्प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।कार्यक्रममा सहभागि २७ जना सहभागि स्थानीय महिलाहरुले उत्पादित अचारको बजारीकण गर्नाका लागि पहल गरिदिन आग्रह समेत गरेका छन।महिलाहरुले विभिन्न ८ प्रकारका अचार उत्पादन गरेका थिए । कार्यक्रममा आयोजक संस्था सिद्धार्थ एकिकरण समाज विकास कोहलपुरका अध्यक्ष चिरञ्जीवी थारुको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।










