१३ आश्विन २०८३, मंगलवार

वर्षाले बगायो नेपालको सपना, एक बल नखेली ठूला टोली सेमिफाइनलमा

चारै क्वाटरफाइनल वर्षाले रद्द, वरीयताका आधारमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अन्तिम चारमा

  • सन्तोष श्रेष्ठ

नागोया, जापान। एसियन गेम्सको पुरुष क्रिकेटमा वर्षा नेपालको सेमिफाइनल पुग्ने सपनामा बाधक बनेको छ। नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि उच्च वरीयताका आधारमा श्रीलंका सेमिफाइनल पुगेको हो।

यससँगै पुरुष क्रिकेटका चारै क्वाटरफाइनल वर्षाका कारण एक बल पनि नखेली रद्द भएका छन्। भारतले अफ्गानिस्तान, पाकिस्तानले हङकङ तथा बंगलादेशले मलेसियालाई वरीयताका आधारमा पछि पार्दै अन्तिम चारमा स्थान बनाए।

नेपाल समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल पुगेको थियो। समूह चरणमा नेपालले अफ्गानिस्तानलाई पाँच विकेटले हराएको थियो भने १५ ओभरमा छोट्ट्याइएको जापानविरुद्धको खेल नेपालको पारी सकिनासाथ वर्षाका कारण रद्द हुँदा अंक बाँडिएको थियो।

तर निर्णायक क्वाटरफाइनलमै खेल हुन नसक्दा नेपालको पदक अभियान टुंगिएको हो। हङकङ, मलेसिया र अफ्गानिस्तानको अवस्था पनि उस्तै रह्यो।

नियमअनुसार नकआउट खेल वर्षाका कारण हुन नसके उच्च वरीयताको टोली अघि बढ्ने व्यवस्था छ। रिजर्भ डे नराखिएका कारण समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका टोलीले मैदानमै आफ्नो क्षमता देखाउने अवसर पाएनन्।

यसले विशेषगरी एसोसिएट राष्ट्रका लागि प्रतियोगिताको संरचनामाथि बहस सिर्जना गरेको छ। वर्षाका कारण खेल नै हुन नसक्दा वर्षौंको मेहनत र समूह चरणको प्रदर्शनको फैसला वरीयताबाट हुनु क्रिकेटको प्रतिस्पर्धात्मक पक्षका लागि निराशाजनक बनेको छ।

अब अक्टोबर १ मा पाकिस्तान–बंगलादेश र भारत–श्रीलंकाबीच सेमिफाइनल हुनेछ।

  • १३ आश्विन २०८३, मंगलवार प्रकाशित

  • Nabintech