७ बैशाख २०८१, शुक्रबार

बूढीगण्डकीमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यति अर्ब खाए भन्‍ने कुरा निराधार र गैरजिम्मेवार : ओली

देश र जनतालाई गलत सूचना दिई भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भयो : प्रधानमन्त्री ओली

  • न्युज मानसराेवर

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको कुरा दोहोऱ्याएका छन् । नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताएका हुन् ।

नेपालजस्तो मुलुकमा जागिर पाउनु, तलब पाउनु गरिबीको रेखामुनि पर्नु नभएको भन्दै लोभलालच, र व्यक्तिगत लाभ र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उनले बताए ।सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाए पनि केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्तिप्रति लक्षित गर्दै बूढीगण्डकीमा अर्बौं भ्रष्टाचार भयो भन्ने कुरा निराधार भएको बताए । ‘एउटा निर्णय नभएको, कसैले नलिएको कार्यारम्भ नभएको, हुन्छ हुँदैन भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेतले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएकोसमेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्तिको एउटा कुरा हो तर हामी त्यति गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं ।’

बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको पनि प्रधानमन्त्री ओलीले बताए ।केही दिनअघि पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा नेता बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले ९ अर्ब रुपैयाँ खाएको भनेर विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि कांग्रेस र नेकपा दुवैले विज्ञप्ति निकालेर आरोप पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका थिए । त्यसपछि भट्टराईले भने आफ्नो काम सडकमा प्रमाण देखाउँदै हिँड्ने नभएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आफूहरु सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए । भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताका साथ अघि बढे पनि अरु कुराहरुमा सरकार सहनशीलताका साथ अघि बढ्ने उनले बताए । अपराध र भ्रष्टाचारविरद्धको शून्य सहनशीलताको नीति अपनाउन नेपाल प्रहरी प्रतिबद्ध भएर अघि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि प्रधानमन्त्री ओलीले बताए । प्रहरीमाथि नागरिकको विश्वास कमजोर भए नागरिक र प्रहरीबीचको सम्बन्ध नै कमजोर हुने पनि उनले बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र खटिरहेको भन्दै प्रशंसा गर्दै आपराधिक क्रियाकलाप रोक्न कुनै पनि प्रकारको दबाब र प्रभावमा नपर्न नेपाल प्रहरीलाई आग्रह गरे । कान्तिपुर

 

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech