१२ बैशाख २०८१, बुधबार

छोरी घरभित्रै असुरक्षित : ‘बाबुु’ नै बलात्कारी

छोरी घरभित्रै असुरक्षित : ‘बाबुु’ नै बलात्कारी झन्डै ७ प्रतिशत महिला आफन्तबाटै बलात्कारको शिकार

  • न्युज मानसराेवर

बाँके बैजनाथ \बाँके प्रहरीले जिल्लामा सुरक्षाको भरपुर कडा व्यवस्था गरेको दाबी गरिरहेका बेला वालिकाहरू घरभित्रै असुरक्षित भैरहेका छन् । बाँकेमा पछिल्लो समय बलात्कारका घटना बढेका छन् । जसमा अधिकाशं बलात्कार आफनै बाबु र नातेदारबाट भैरहेका छन् । बाँकेको खजुरा गाउँपालिकामा छोरी बलात्कारको अभियोगमा ३ जनासहित जिल्ला अदालतमा ७ जना बाबुविरुद्ध मुद्दा दायर भएको छ । ती मुद्दा अहिले विचाराधिन अवस्थामा छन् ।

खजुरा गाउँपालिका–६ की १५ वर्षीया किशोरी आफ्नै ४२ वर्षीय बाबुबाट बलात्कृत भएकी छन् । जड्याहा पतिबाट सधैं कुटाइ खाने आमा माइत गएको मौकामा बाबुले बलात्कार गरेको छोरीको आरोप छ । छोरी बलात्कार गरेको अभियोग लागेका बाबु अहिले पुर्पक्षका लागि बाँके कारागारमा थुनामा छन् । उनको मुद्दा जिल्ला अदालत बाँकेमा विचाराधिन छ।

इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज वसन्त आचार्यका अनुसार खजुरा गाउँपालिकामा गत वर्ष मा त्र ३ जना बावुविरुद्ध छोरी बलात्कारको अभियोगमा मुद्दा दायर गरिएको छ । खजुरा–२ मा ६ वर्षीया र खजुरा–४ मा ८ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएका छन् । उनीहरुको मुद्दा पनि जिल्ला अदालतमै विचाराधीन छ ।

बर्दियाको गेरुवा गाउँपालिका–६ का ४४ वर्षका एक बाबु १८ वर्षकी छोरीलाई नेपालगन्जको न्यूरोडस्थित एक होटलमा २४ मंसिर २०७६ मा बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन । यो मुद्दा पनि अदालतमा विचाराधीन छ ।त्यसो त, जिल्ला अदालत बाँकेले १८ कार्तिक २०७२ मा साबिक शम्शेरगन्ज गाविस हाल राप्ती सोनारी गाउँपालिका का एक जना बाबुलाई छोरी बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला गरेको छ । तत्कालीन न्यायाधीश विष्णुप्रसाद कोइरालाले गरेको फैसलामा जबरजस्ती करणीमा ८ वर्ष कैद, हाडनाता करणीमा थप १० वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति गराइएको थियो ।

राप्ती सोनारी गाउँपालिकामा छोरी बलात्कार गर्ने बाबुको मुद्दा जिल्ला, उच्चहुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । त्यसैगरी, ३ साउन २०७३ मा साबिक नौबस्ता हाल बैजनाथ गाउँपालिका की एक छोरीले बाबुले आफूलाई राति तेल लगाइदिन भन्दै भान्सामा बलात्कार गरेको जिल्ला अदालतमा मुद्दा दायर गरिन् । ८ जेठ २०७५ मा जिल्ला अदालतले भने ती बाबुलाई सफाइ दिएको छ । छोरी बलात्कारको अभियोगमा बाबुले बन्दी जीवन बिताउनु परेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा गत वर्ष २४ वटा जबरजस्ती करणीका मुद्दा दायर भएकोमा २ वटा हाडनाता करणीकै थिए । १३ वर्षीया नातिनी बलात्कार गरेर कोहलपुरका ८० वर्षका ४ असोजमा २ वर्ष जेल सजाय भुक्तान गरेर घर फर्किसकेका छन् । कोहलपुर–३ मैटहवामा आफ्नै सहोदर पाँच वर्षीया भतिजी बलात्कार गर्ने १९ वर्षका भारतीय नागरिक अहिले पनि कैदी जीवन बिताइरहेका छन् ।

जिल्ला अदालत बाँकेमा गत वर्ष एक सय ४२ वटा र यो वर्ष २१ गरी एक सय ६३ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका थिए । अदालतका श्रेस्तेदार तीर्थराज भट्टका अनुसार जसमा ११ वटा त हाडनाता करणीकै रहेका छन् । जुन अदालतमा दायर भएका कूल मुद्दाको झन्डै ७ प्रतिशत महिला आफन्तबाटै बलात्कारको शिकार भएको देखिन्छ ।

नातागोता, इष्टमित्र बिर्सेर बलात्कार हुँदा छोरी घरभित्रै असुरक्षित छन् । सामाजिक मूल्य मान्यता र नैतिकता हराउनु नै अहिले चुनौती बनेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार जबरजस्ती करणी गर्दा कम्तीमा पाँच वर्षदेखि बढीमा सर्वस्वसहित जन्मकैद र क्षतिपूर्तिको व्यवस्था रहेको अधिवक्ता बसन्त गौतम बताउँछन् ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • Nabintech