८ बैशाख २०८१, शनिबार

आईपीएल : दिल्ली र बेंग्लोर दुवै सुरक्षित

दिल्ली र बेंग्लोरबीचको खेलको नतिजामा ठूलो अन्तर भएको भए कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने थियो ।

  • न्युज मानसराेवर

अबुधाबी — दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको विजय हात पारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ । लगातार चार खेलको हार यात्रालाई टुंग्याउदै दिल्ली निर्णायक खेलमा जित पाउँदै फाइनल नजिक पुगेको हो ।

दिल्लीले टस जितेपछि ब्याटिङ निम्तो पाएको बेंग्लोरलाई १५२–७ को स्कोरमा रोकेको थियो । दिल्लीले एक ओभरअगाडि नै १ सय ५४ रन बनायो । दिल्लीले फाइनलमा स्थान पाउन बिहीबार शीर्षस्थानको मुम्बई इन्डियन्ससँग क्वालिफायर्स १ मा खेल्नेछ ।अबुधाबीस्थित शेख जायेद रंगशालामा भएको दिल्ली र बेंग्लोरबीचको खेलमा ठूलो अन्तरको नतिजा आएको भए पराजित हुने टोली बाहिरिन्थ्यो । त्यसका लागि बेंग्लोरले दिएको लक्ष्य दिल्लीले १७।४ ओभरभित्र पूरा गरिसक्नुपर्ने थियो । बेंग्लोरले पनि १९ रनमाथिको जित हात पारेको भए दिल्ली बाहिरिन्थ्यो । तर प्रतिस्पर्धात्मक खेलपछि दुवै टोली प्लेअफमा सुरक्षित भएका छन् ।

दिल्ली र बेंग्लोरबीचको खेलको नतिजामा ठूलो अन्तर भएको भए कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने थियो । तर साँघुरो अन्तरको हारपछि कोलकाताको अन्तिम आशा मंगलबार मुम्बई र सनराइजर्स हैदराबादबीचको खेलमा अडिएको छ ।

मुम्बईले जितेमा कोलकाताले बेंग्लोरसँग इलिमिनेटरमा खेल्न पाउने छ । हैदराबादले जिते कोलकाता बाहिरिने छ र बेंग्लोरसँग प्लेअफमा खेल्नेछ ।राउन्ड रोबिन लिगको अन्तिम खेलअघि मुम्बई १८, दिल्ली १६, बेंग्लोर १४, कोलकाता १४, हैदराबाद १४ अंकसाथ शीर्ष पाँच स्थानमा थिए । किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सले समान १२ अंक जोडे पनि प्लेअफमा पुग्न सकेनन् । आईपीएल इतिहासमै पहिलो पटक सबै टोलीले कम्तीमा १२ अंक जोडेका हुन् ।

दिल्लीलाई विजय दिलाउन दक्षिण अफ्रिकी बलर एनरिक नोकिआ र कागिसो राबाडाले सानदार बलिङ गरे । म्यान अफ द म्याच नोकिआले ४ ओभरमा ३३ रन खर्चेर ३ र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रहेका राबाडाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । राबाडाले ओपनर जोस फिलिप्सलाई १२ रनमा आउट गरे । नोकिआले कप्तान विराट कोहलीको क्याच छाडे पनि दिल्लीलाई त्यो महँगो परेन । रविचन्द्रन अश्विनले कोहलीलाई २९ रनमा आउट गरे ।

ओपनर देवदत्त पाडिक्कलले सर्वाधिक ५० रन बनाए । ४१ बल खेली ५ चौका प्रहार गरेका उनलाई नोकिआले बोल्ड गरे । नोकिआले त्यसपछि क्रिस मोरिसलाई शून्यमा आउट गरे । राबाडाले पनि शिवम दुबेलाई १७ रनमा आउट गरे । नोकिआले तेस्रो विकेट इसुरु उडानालाई ४ रनमा आउट गर्दै लिए । एबी डी भिलियर्सले २१ बल खेली १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

दिल्लीले ओपनर पृथ्वी शलाई ९ रनमै गुमाएको थियो । ओपनर शिखर धवनले अजिन्क्या राहनेसँग दोस्रो विकेटमा ८८ रनको साझेदारी गरी दिल्लीलाई जितको बाटो देखाए । धवनले ४१ बल खेली ६ चौकासहित ५४ र राहनेले ४६ बल खेली ५ चौका र १ छक्कासहित ६० रन बनाए । कप्तान श्रेयस ऐर ७ रनमा आउट भए । ऋषभ पन्त ८ र मार्कस स्टोइनिस १० रनमा नटआउट रहे । बेंग्लोरका शहवाज अहमदले २ विकेट लिए ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech