८ बैशाख २०८१, शनिबार

अचानक कसरी शान्त भयो नेकपा तनाव ?

दुवैतर्फका नेताहरु ‘पर्ख र हेर’को रणनीतिमा

  • न्युज मानसराेवर

काठमाडौँ — पार्टी विभाजन नै भएजस्तो गरी आइतबार नेकपाभित्र दौडधूप र नेताहरुको अभिव्यक्ति आए पनि सोमबार र मंगलबार त्यहीस्तरमा संवाद र गतिविधि देखिएनन् ।

आइतबार नाटकीय रुपमा बालुवाटार र खुमलटारमा घटनाक्रम विकसित भए पनि पछिल्ला दुई दिनमा नेकपा नेताहरु अचानक शान्त भए ।

नेकपामा विभिन्न समूहका दोस्रो तहका नेताहरुका अनुसार उत्कर्षमा पुगेको विवाद पछिल्ला दुई दिनमा मत्थर बन्द कोठामा मात्रै सीमित भएको हो, विवाद टुंगिएकै चाहिँ होइन । अर्थात् दुवैतर्फका नेताहरु अहिले ‘पर्ख र हेर’को रणनीतिमा छन् । सामाजिक संजालमा पनि सुरुका दिनजस्तो तरंगित हुने सूचना नेताहरुले राखेका छैनन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एवं वरिष्ठ नेता माधवकुमार नेपाल अरु दुईरतीन दिन अर्थात् शुक्रबारसम्म थप गतिविधि र अभिव्यक्ति नदिने योजनामा छन् । निकट नेताहरुले बताएअनुसार भारतीय स्थल सेनाध्यक्षको भ्रमण अगाडि कोही नेता पार्टी विवादलाई थप तनावपूर्ण बनाउने पक्षमा छैनन् ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।

नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी लगाइदिने कार्यक्रम छ । नरवणेले शुक्रबार प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग उनले बिहीबार जंगी अड्डामा वार्ता गर्नेछन् । उनी शुक्रबार स्वदेश फर्किनेछ ।

नेपाली भूमि मिचेर भारतले कालापानीमा सडक बनाएपछि नरवणेले नेपालले कसैको इसारामा विरोध गरेको अभिव्यक्ति दिएका थिए । त्यसैले उनको भ्रमणलाई लिएर पनि नेकपाभित्र चासो छ ।

ओली, दाहाल र नेपाल तीनै नेताका निकट स्रोतहरु भन्छन्, ‘भारतीय सेनाका स्थल सेनाध्यक्षको भ्रमणभर शीर्ष नेताबाट पार्टी विवादलाई लिएर ठूला गतिविधि र अभिव्यक्तिको सम्भावना कम छ । उनी फर्केपछि मत्थर भएको तनाव फेरि बल्झिन सक्छ ।’ संयोग कस्तो भएको छ भने भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको दुई सातापछि भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदैछन् ।

‘रअ’ प्रमुख गोयल कात्तिक ५ मा नेपाल आएका थिए । उनले मध्यराती प्रधानमन्त्रीसँग बालुवाटारमा भेट गरेर अर्को दिन स्वदेश फर्केका थिए । नेकपामा विवाद बढ्नुमा ‘रअ’प्रमुख गोयलको नेपाल भ्रमण पनि जोड्ने प्रयत्न भएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि हुने आधार भने छैनन् ।

भारतीय सेना अध्यक्ष फर्कने बेलासम्म अर्थात् शुक्रबारसम्म ओली, दाहाल र नेपाल आन्तरिक परामर्शममा छन् । र, त्यसैअनुसार शनिबारबाट पार्टीभित्रको विवादमा थप छलफल गर्ने उनीहरुको योजना छ । दुवैपक्ष यो बीचमा एक अर्कालाई हेर्ने र आफ्नो रणनीति निर्माणमा जुटेका छन् ।

सोही अनुसार प्रधानमन्त्री निवास बालुवाटार र दाहाल निवास खुमलटारमा निकट नेताहरुसँग भेटघाट भएका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा आफूनिकट साथै पूर्वमाओवादी निकट केही नेताहरुसँग भेटघाट र छलफल गरेका छन् ।

तर, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ भएका सहमति कार्यान्वयनका लागि आवश्यक वातावरण तयार गर्न भेटघाट भइरहेको बताउँछन् । ‘हामी निरन्तर औपचारिक, अनौपचारिक भेटघाट र कुराकानी गरिरहेका छौं । दुई अध्यक्ष पनि भएको सहमतिलाई कार्यान्वयन गरेर जाने भन्नेमा एकमत हुनुहुन्छ । त्यसको लागि आवश्यक वातावरण तयार गर्न हामी सबै छलफलमा लागेका छौँ,’ उनले भने ।

अध्यक्ष दाहालले पनि आफ्नो निवासमा मंगलबार बिहान नेकपा वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका थिए । साथै आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका पूर्वमाओवादी निकट स्थायी कमिटीका नेतासँग पनि दाहालले छलफल गरेका थिए ।

वरिष्ठ नेता नेपालले पनि आफू निकट नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । साथै उनले सोमबार नेकपाका केन्द्रीय सदस्य प्रदीप नेपालसँग पनि भेटघाट गरेका थिए । सोमबार नै उपाध्यक्ष गौतम निवासमा दाहालसहितका केही नेताहरुबीच भेट भएको थियो ।

दाहाल र नेपाल तत्काल सचिवालय बैठक बसेर विवादित मुद्दामा छलफल गर्न ओलीमाथि दबाब दिने रणनीतिमा छन् भने ओली सकेसम्म बैठक टार्ने योजनामा देखिएका छन् । अर्थात शुक्रबारपछि फेरि एकपटक नेकपामा तनाव सुरु हुने ओली, दाहाल र नेपाल निकट नेताहरुको भनाइ छ ।

शनिबार ओलीसँग तनावपूर्ण संवादपछि आइतबार दाहालले खुमलटारमा सचिवालयका ५ सदस्यसँग छलफल गर्दा एकताका लागि ओलीसँग संवाद गर्न सुझाव दिएका थिए । सोमबार र मंगलबार भएका अनौपचारिक संवाद र भेटमा दुई अध्यक्षबीचको भेटघाटको विषय पनि उठेको सचिवालयका एक सदस्यले बताए । मंगलबार ओली र दाहालबीच टेलिफोन संवादसमेत भएको छ । उनका अनुसार विवादका मुद्दामा छलफल गर्न बुधबार ओली र दाहालबीच भेटघाटको सम्भावना छ । महासचिव बिष्णु पौडेलसहितका केही नेता पनि यसमा लागेका छन् ।

आइतबार दिउँसो साढे २ बजे महासचिव पौडेलले सामाजिक संजालमा ‘नेकपाको एकता संकटमा’रहेको लेखेपछि एकाएक नेकपाको विवाद बाहिर आएको थियो ।

महासचिवको ‘स्टाटस्’ आउनुपूर्व प्रधानमन्त्री निवास बालुवाटार र अध्यक्ष दाहाल निवास खुमलटारमा नेताहरुबीच छुट्टाछुट्टै भेला र छलफल भएका थिए । कर्णाली प्रदेशमा आफूनिकट मन्त्री हटाएर मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेरको तयारीमा जुटेपछि प्रधानमन्त्री ओली निकट नेताहरु त्यसको ‘काउन्टर स्ट्रयाटेजी’ निर्माणमा जुटे ।

प्रधानमन्त्री ओलीले शनिबार अध्यक्ष दाहालसँगको भेटमा नै कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भए आफूले कडा कदम चाल्ने चेतावनी दिएका थिए । यही विषय ओलीले आइतबार बिहान पनि दाहाललाई फोनमार्फत स्मरण गराएका थिए ।

दाहाल निवास खुमलटारमा सोही दिन बिहान वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बोलाएर अध्यक्ष ओलीले शनिबारको भेट र आइतबारको टेलिफोन संवादमा नेकपा विभाजन हुन सक्ने चेतावनी दिएको ‘ब्रिफिङ’ नेतासँग गरेका थिए । ‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाउँ बस्न सकिन्नँ भने अलग–अलग जाऔँ भन्नु भएको छ,’ दाहालको यो ‘ब्रिफिङ्’ बाहिर आएपछि एकाएक नेकपाका कम्पन ल्याएको थियो ।

स्थायी कमिटी सदस्य भीम रावल भन्छन्, ‘आइतबार कर्णालीको कुरा अगाडि आएको भएर अरु धेरै कुराहरु बाहिर आएका हुन सक्छन् । तर, स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको कारण उत्पन्न अन्तर्विरोध र समस्या समाधान भइसकेको छैन । पार्टीको बैठक तुरुन्त बोलाएर किन त्यो कार्यान्वयन भएन, त्यसको समीक्षा गर्नुपर्छ । त्यसबारे यथार्थ के हो सम्बन्धित व्यक्तिले पार्टी कमिटीमा जानकारी गराउन पर्ने आवश्यकता यथावत् छ ।’ कान्तिपुर

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech