७ बैशाख २०८१, शुक्रबार

सचिवालय बैठक सार्नुपर्ने अध्यक्ष ओलीको प्रस्ताव लिएर खुमलटार पुगे महासचिव पौडेल

अध्यक्ष दाहालसँगको बैठकपछि पौडेलले भने - 'समाचार बन्ने कुरा भएन'

  • न्युज मानसराेवर

काठमाडौँ — आन्तरिक विवाद चुलिएका बेला बुधबार बोलाइएको सचिवालय बैठक केही दिन सार्नुपर्ने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बोकेर महासचिव तथा अर्थमन्त्री विष्णु पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका छन् ।

सचिवालय बैठकको एक दिन अघि मंगलबार बिहान अध्यक्ष दाहाल निवास पुगेका महासचिव पौडेलबीच आन्तरिक विवाद समाधानबारे छलफल भएको दुवै पक्षले बताएको छ ।

पार्टीभित्रको जारी विवादको समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्नुपर्ने अध्यक्ष ओलीको प्रस्ताव महासचिव पौडेलमार्फत आएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।

महासचिव पौडेलले भोलिका लागि बोलाइएको बैठक केही पर सारौं र सहमतिका लागि छलफल गरौं भन्ने अध्यक्ष ओलीको प्रस्ताव ल्याउनुभएको थियो, दाहालको सचिवालय स्रोतले भन्यो, ुसचिवालयले नै तय गरेको बैठकको मिति भएकाले भोलि सचिवालयमा नै छलफल गरौंला भनेर अध्यक्षले भन्नुभएको
छ ।

पार्टी कमिटी बैठकमा आपसी विवाद गरेर समस्या झन् जटिल बनाउनुभन्दा दुई अध्यक्ष र अन्य नेताहरूबीच छलफल गरेर समाधानसहित छलफल गर्नुपर्ने प्रस्ताव महासचिव पौडेलले लिएको बताइएको छ । तर, अध्यक्ष दाहालले भने विवादका सबै विषयमा छलफल गर्नका लागि एजेन्डासमेत तय गरेर सचिवालय बैठकले नै मिति तोकेकाले अहिले आएर सार्न नमिल्ने बताइएको छ ।

महासचिव विष्णु पौडेलले पार्टीका कार्यकारी अध्यक्षसँग भएको भेटमा उपलब्धि नभएको बताए । समाचार बन्ने गरी केही कुरा भएन, भोलिको बैठकबारे छलफल भएको हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, हो । तर समाचार बन्ने कुरा भएन ।

नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । यसअघि लामो समयको रस्साकस्सीपछि कार्तिक २८ गते सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कालाई आरोप(प्रत्यारोप गर्ने क्रम चलेको थियो ।

दुवै अध्यक्षहरूले आफ्नो समूहमा कसरी अगाडि बढ्ने भन्ने व्यापक तयारी गरेका थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन भन्दै सहमतिपत्र बुझाएका थिए । दाहाल नेपाललगायत ५ सचिवालय सदस्य पटकपटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि दबाब सिर्जना गरेका थिए ।

शुक्रबारको बैठकमा अध्यक्ष दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई अध्यक्ष ओली पक्षले आरोपपत्रुको संज्ञा दिँदै फिर्ता हुनुपर्ने माग गरेका छन् । खनाल, गौतमलगायत नेताहरूले भने उक्त प्रस्तावमा आफूहरूको पनि समर्थन रहेकाले सचिवालयमा छलफल हुनुपर्ने बताइरहेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले यसबीच वरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतम लगायतका नेताहरूसँग सल्लाह गरेका छन् ।

अध्यक्ष ओलीले बैठक स्थगन गरेर समस्या समाधानका लागि छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले अस्वीकार गरेपछि बुधबार बोलाइएको बैठकलाई लिएर अनिश्चय भने पैदा भएको छ ।  कान्तिपुर

  • २ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech