१५ चैत्र २०८०, बिहीबार

साउनको परिकार : हरियो मकैको अनेक स्वाद
  • न्युज मानसराेवर

साउनको महिनामा शाकाहारी खानपानलाई जोड दिइन्छ । धार्मिक आस्थाको हिसाबले मात्र होइन, वर्षायाममा स्वास्थ्यका लागि पनि मासुजन्य परिकार सेवन नगरेको राम्रो हो । अर्कोतिर लकडाउनको कारण घरवाहिर एवं रेष्टुरेन्ट धाउने र थरीथरीका परिकार चाख्ने अनुकुलता पनि छैन ।

राम्रो कुरा त के भने, यतिबेला हरियो मकै पाइन्छ । हरियो मकै मौसम अनुकुल खान्की त हो नै, ताजा, सुपाच्य र पोषिलो पनि ।

अनेक गुण

आयुर्वेदले मकैलाई तृप्तिदायक, वातकारक, कफ–पित्तनाशक, मधुर एवं रुचि उत्पादक अन्नको श्रेणीमा राखेको छ । मकैको महत्वपूर्ण विशेषता के छ भने पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ । पोलेको मकैमा पाइने क्यारोटिनाइड भिटामिन ए को राम्रो स्रोत मानिन्छ । मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ । मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटुरोगीका लागिसमेत राम्रो मानिन्छ ।

मकैको पहेँलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ । रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ किनभने यसमा भिटामिन बी तथा फोलिक एसिड हुन्छ ।

थरीथरीको स्वाद

हरियो मकैलाई थरीथरी परिकार बनाएर स्वादमा विविधता खोज्न सकिन्छ । हरियो मकैलाई पोलेर, उसिनेर, भुटेर, साँधेर जसरी खाए पनि हुन्छ । गुलियो परिकारको रुपमा होस् वा नुनिलो–पिरो, जस्तोसुकै परिकारको रुपमा पनि तयार गर्न सकिन्छ । कलिलो मकैलाई तरकारीमा मिसाएर समेत खान सकिन्छ ।

त्यसो त अहिले बालबच्चालाई जंकफुडको लतबाट मुक्त गराउने राम्रो मौका पनि छ । लकडाउनको कारण घरभित्रै बसेका बालबच्चालाई आफ्नै भान्साको खानेकुरामा लोभ्याउन सकिन्छ । मकैबाट पनि थरीथरीका परिकार बनाएर उनीहरुको जंकफुडको तलतल मेट्न सकिन्छ ।

विविध परिकार

हरियो मकैलाई पोलेर वा उसिनेर खाने गरिन्छ । पोलेको मकै र उसिनेको मकैमा पनि भिन्न स्वाद हुन्छ ।

मकैको चटपटे

मकैलाई चटपटे बनाएर पनि खान सकिन्छ । उसिनेको वा पोलेको मकैको दाना निकाल्ने । त्यसमा नुन, खुर्सानी राख्ने । हरियो धनियाँ, प्याज र गोलभेडालाई समान आकारमा टुक्रा गरेर मिश्रण गर्ने । कागतीको रस निचोर्ने । यसरी छिटोमीठो खाजाको रुपमा खान सकिन्छ ।

उसिनेको मकैको परिकार

यसका लागि धेरै कलिलो भन्दा अलि छिप्पिएको मकै उपयुक्त हुन्छ । मकैको दाना निकालेर राख्ने । एउटा कुकुरमा तेल हालेर त्यसमा प्याज, सुकेको रातो खुर्सानी फुराउने । अदुवा र लसुनको पेस्ट राख्ने । त्यसमा बेसार, नुन, जिराको धुलो हालेर मकैलाई केही क्षण भुट्ने । अब त्यसमाथि थोरी पानी हालेर राम्ररी पकाउने । यसलाई खाना वा नास्ताको रुपमा सेवन गर्न सकिन्छ ।

नौनीसँग मकै

गाउँघरमा मकैलाई नौनीसँग खाने चलन छ । खासगरी न्वागी अर्थात कुनैपनि अन्नबाली भित्र्याएपछि पहिलो पटक विधीपूर्वक खाने चलन हो यो । पोलेको मकैको तात्तातो दानामा नौनी मिसाउनुपर्छ । त्यसमा थोरै नुन राखेर खान सकिन्छ । यस्तो परिकार बालबच्चाले बढी रुचाउन सक्छन् ।

तारेको मकै

मकैको दानालाई केही क्षण उमाल्ने । ४, ५ मिनेटपछि त्यसलाई निकालेर सेलाउन दिने । उक्त मकैमा नुन, रातो खुर्सानीको धुलो र थोरै आटा मिसाएर राम्ररी चलाउने । अब यसलाई थोरै–थोरै गरेर तेलमा तार्ने । यसरी तयार भएको मकैलाई हरियो धनिया, कागतीको रस मिसाएर सेवन गर्न सकिन्छ ।

  • ७ श्रावण २०७७, बुधबार प्रकाशित

  • Nabintech