१६ चैत्र २०८०, शुक्रबार

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री
  • न्युज मानसराेवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री फेङ्हेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराएका छन् ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्रीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको बताएका छन् । साथै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए । मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका छन् ।

सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइलेले प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका छन् ।

 

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech