१६ चैत्र २०८०, शुक्रबार

रोकियो नेकपामा संवाद
  • न्युज मानसराेवर

काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी विवादका विषयमा गर्ने भनिएका औपचारिक/अनौपचारिक सबै संवाद रोकिएका छन्।

गत मंगलबारको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदनका विषयमा सहमति गर्न औपचारिकसँगै अनौपचारिक संवाद गर्ने बताएका थिए। तर, पार्टी विवाद साम्य पार्न अध्यक्षद्वयसहित पार्टीका अन्य नेताहरु समेत निष्कृय भएका छन्।

पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली बैठकमै उपस्थित हुन छाडेका छन्। गत मंगलबारको सचिवालय बैठकमा अरु नेताको दबाबमा ओली बैठकमा बस्न बाध्य भएका थिए। बुधबारको बैठक भने उनले बहिस्कार गरेका छन्। बुधबारको सचिवालय बैठकमा ओली अनुपस्थित भए पनि प्रचण्डसहित सचिवालयका अन्य सदस्यहरु सहभागी भएका थिए। उनीहरुले शनिबार सचिवालय र आइतबार स्थायी कमिटी बोलाउने निर्णय गरेका छन्।

अध्यक्ष प्रचण्डले पेश गरेको १९ पृष्ठ र ओलीले पेश गरेको ३८ पृष्ठलगायत अरु पत्र पनि ओलीसँग जोडिएकाले बैठकमा उपस्थित हुन उनलाई तीन दिनको समय दिएको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘बैठकमा उठेका सबै विषय प्रधानमन्त्रीजीसँग जोडिएका छन्। उहाँ उपस्थित नभए छलफल गर्नुको औचित्य छैन भन्ने भयो, त्यसैले तीन दिनको समय दियौं,’ खनालले भने, ‘यदि बैठकमा प्रधानमन्त्री उपस्थित नभए पार्टी कमिटीले निर्णय गरेर अघि बढिन्छ ।’

पार्टीमा विवादका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डसहित पार्टीका अन्य नेताहरुवीच समेत संवाद हुन नसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए। पार्टी विवादका विषयमा अध्यक्ष प्रचण्डसँग पार्टीका अन्य नेताहरुसँग भेटघाट नै नभएको उनले पुष्टि गरे। तर, ओलीनिकट केन्द्रीय सदस्य कर्ण थापाले भने पार्टी विवादका विषयमा नेताहरुबीच अनौपचारिक संवाद भईरहेको दाबी गरे। ‘पार्टीमा संवाद भईरहेको छ। दुवै पक्षका नेताहरुबीच छलफल चलिरहेको छ’ थापाले भने, ‘बाहिर केपी ओलीलाई देखाईदिन्छौं। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट हटाईदिन्छौं भन्छन्। पार्टीभित्र यो पद चाहियो, त्यो पद चाहियो भन्दै बार्गेनिङ गरिरहेका छन्।’

पार्टीमा वैचारिक पक्षभन्दा पद लेनदेनको विषय मात्रै भएकाले विवाद सल्टिने थापाले विश्वास व्यक्त गरे।

अध्यक्ष ओली पार्टी विवादको निकास गत भदौ २६ गतेकै सेरोफेरोबाट निकाल्नु पर्ने पक्षमा छन्। अब बस्ने स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर संयुक्त प्रतिवेदन लिएर जानेमा उनले सहमति जनाईसकेका छन्। यता प्रचण्डसहित बहुमत सचिवालय सदस्य दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने बताउँदै आएका छन्। विषयहरु पार्टी कमिटीमा छलफल गराएर निर्णयमा पुग्नुपर्ने उनीहरुको भनाइ छ।

तर, ओली यसरी पार्टी कमिटीमा छलफल गर्दै गए बहुमत र अल्पमत देखाएर आफूलाई हटाउन सक्ने भन्दै बैठकमा बस्न अस्वीकार गरिरहेका छन्। पार्टी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा भएकाले ओली बैठकमा बस्न सहमत नभएका हुन्। पार्टी कमिटीमा अल्पमतमा पर्दै गए त्यसको प्रभाव संसदमा समेत पर्न सक्ने भएकाले थप छलफल गर्न ओली सहमत भएका छैनन्। पार्टी विवाद समाधानको सूत्र नेताहरुले अझै फेला पार्न सकेका छैनन्। नेपाल लाइभ

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech