१२ बैशाख २०८१, बुधबार

पौडेललाई हराउने श्रेष्ठ भन्छन्- जनताबाट अस्वीकृत व्यक्तिले उद्घाटन गर्न खोजेपछि तनाव
  • न्युज मानसराेवर

काठमाडौं- पराजित व्यक्तिले पुल उद्धघाट्न गर्न जाँदा जनताले प्रतिरोध गरेको नेकपा सांसद किसान श्रेष्ठले बताएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठले जनताबाट अस्वीकृत पौडेलले पद्धति मिचेको समेत आरोप लगाए।

भौतिक मन्त्रालयले बनाएको पुललाई सम्बन्धित मन्त्रालयले तथा सडक विभागलाई जानकारी नै नगराई उद्घाटन गरिएको श्रेष्ठले बताए। उनले भने, ‘मन्त्रालयले बनाएको पुललाई आफुखुसी उद्घाटन गर्न पाईंदैन। नियम/ कानुन सबैले मान्नुपर्छ।’

कांग्रेसकै सरकार भएको समयमा बजेट विनियोजन भएको साथै उपभोक्ता समितिले उद्घाटनका लागि पौडेललाई निम्त्याएको कांग्रेसको दाबी छ। पुल बनाएको उपभोक्ता समितिले नभई सरकारले भएकाले उद्घाटनको जानकारी सरकारलाई हुनुपर्ने उनको तर्क छ।

बजेट विनियोजन गरेकै दलले उद्घाटन गर्न मात्रै पाउने प्रचलन अस्वीकार्य हुने उनले बताए। ‘संघीय सरकारले बनाएको पुल संघीय सरकारको अनुमति विना उद्घाटन गर्न पाइँदैन।’ उनले भने। पुल उद्घाटनका लागि पौडेलले जबरजस्ती गरेको प्रति उनले आपत्ति जनाए। पौडेलले विधि तोडेको श्रेष्ठको ठहर छ।

जिल्लामा विभिन्न कार्यक्रमका लागि तनहुँ पुगेका पौडेलले व्यास नगरपालिकाका १,१० र ११ जोड्ने पुल उद्घाटन गर्ने कार्यक्रम बिहीबार तय भएको थियो। पौडेलले उद्घाटन निश्चित भएपछि सत्तारुढ दल नेकपाले विरोध जनाएको थियो। दुई पक्षबीच झडपको स्थिति आउने आँकलन गर्दै प्रशासनले पुल वरपर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाकै विच पुल उद्घाटन गर्ने कांग्रेसको तयारी भएपछि प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।

तनहुँ १ बाट पौडेललाई पराजित गरेका नेकपा श्रेष्ठले भने, ‘उहाँ (रामचन्द्र)लाई पुल ,खानेपानी उद्घाटन नै गर्ने लालायित र उहाँलाई त्यस्तै धोको छ भने दिनमा दुईटा उद्घाटन र शिलन्यास गराउँदै म हिँड्छु। उहाँलाई प्रमुख अतिथि र म विशेष अतिथि हुन्छु।’

पौडेलले जनमतको कदर समेत नगरेको उनले आरोप लगाए। ‘जनताको मन जित्न नसके पछि चुनाव हार्नुभएको हो। जनताले विरोध गर्नु स्वभाविक हो,’ उनले भने।

उद्धघाट्न पौडेलबाटै भएपनि प्रक्रियासम्मत हुनुपर्ने श्रेष्ठको तर्क छ। निषेधाज्ञा तोड्ने पौडेलको कार्य संविधान विपरित भएको उनले बताए। नेपाल लाइभ

 

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech