८ बैशाख २०८१, शनिबार

गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटायो
  • न्युज मानसराेवर

काठमाडौं, १९ मंसिर – राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ ।  लागुऔषधसम्बन्धी राष्ट्रसंघीय नियोगले बुधबार बहुमतका आधारमा प्रस्ताव पारित गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो । प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ ।
अन्य पक्षराष्ट्रमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत छन् । जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए ।

युक्रेन मतदानमा अनुपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो । पछिल्लो निर्णय अनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ ।

‘संसारभर औषधिका रूपमा गाँजा प्रयोग गर्ने लाखौं मान्छेका लागि यो सुखद समाचार हो,’ गाँजाबारे वकालत गर्दै आएका संस्थाहरूले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै सिएनएनले लेखेको छ । इन्टरनेसनल ड्रग पोलिसी कन्सोर्टियमका कार्यकारी निर्देशक आन फोर्डामले भने वर्गीकरण हेरफेरले मात्र गाँजाबारे फैलाइएको गलत हल्लामा परिवर्तन नआउने बताएका छन् । यो निर्णयले तत्काल गाँजा खुला गर्न सम्भव नहोला । तर, राष्ट्रसंघको निर्णय कुरेर बसेका धेरै देशलाई अब गाँजाको औषधीय गुण स्वीकार गर्न र यसलाई औषधिका रूपमा प्रयोग गर्न सहज हुनेछ,’ उनी भन्छन् । पछिल्लो समय भएका विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ ।

यही अनुसन्धानका आधारमा गाँजा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो ।
नेपालमा गाँजा उत्पादन र बिक्री इतिहास लामो छ । तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो । दोस्रो विश्वयुद्ध कै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ ।

‘हिप्पी’ युगको सुरूआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो । त्यति बेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए । विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे ।

यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी ग¥यो । लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयातरनिर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो । गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फे¥यो । राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो । त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुपदार्थको दर्जामा राखेको थियो ।

आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना ग¥यो । एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो । खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो । र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो ।

गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ । उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो ।
नेपालमा हिन्दु धर्मको प्रभावले गाँजा चलनमा आएको पाइएको छ ।  नेपाल र भारतमा फागु पर्व बेला गाँजाको फूल (भाङ) खाने चलन छ । भगवान शिवले समुद्र मन्थन बेला अमृत शुद्धीकरण निम्ति शरीरबाट गाँजा उत्पादन गरेको भनाइ छ । अर्को व्याख्याअनुसार त्यही अमृतको थोपा जमिनमा परेपछि गाँजाको बिरूवा उम्रेको हो । गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ ।

नेपालको मध्यपश्चिम पहाडमा यसले दाउरा आपूर्ति गर्छ । यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ । गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ ।

नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो । प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए । बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा सांसद खतिवडाले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए । (सेतोपाटी)

  • १९ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech