७ बैशाख २०८१, शुक्रबार

आवश्यक परे जिम्मेवारी छोड्न तयार छु : प्रचण्ड
  • न्युज मानसराेवर

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार रहेको बताएका छन्। पार्टी एकता र परिवर्तनविरोधी शक्तिहरू सडक प्रर्दशनमा उत्रिएको प्रसंग कोट्याउँदै प्रचण्डले यस्तो अवस्थामा आफू र अरू नेताहरूले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार हुनुपर्ने बताएका हुन्। नेकपा विवाद चर्किँदै जादा राजावादी शक्तिले राजा ल्याउनुपर्ने भन्दै दैनिकजसो सडक प्रर्दशन गरेको विषयलाई जोडेर प्रचण्डले यस्तो बताएका हुन्।

‘हामीले लामो संघर्ष र बलिदानबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत परिवर्तनका मुद्दा संस्थागत गर्‍यौँ। त्यसमा लाखौँलाख जनताको रगत र पसिना बगेको छ। त्यत्तिकै संख्यामा घाइते अपांग र बेपत्ता भएका छन्,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ती परिवर्तनका मुद्दा उल्ट्याउन विभिन्न शक्ति सडक प्रदर्शनमा छन्। परिवर्तनका मुद्दा जोगाउन जिम्मेवारी छोड्नुपर्ने अवस्था आए म तयार छु। तपाईंहरु पनि आफ्नो तर्फबाट तयार हुनुहोस्।’ नेकपा विवाद चर्किएका बेला जनयुद्ध र जनआन्दोलनबाट विस्थापित राजतन्त्र फर्काउन राजावादी शक्ति लाग्नु राम्रो संकेत नदेखिएको प्रचण्डले टिप्पणी थियो।

अध्यक्ष केपी ओलीले गत भदौ २६ गतेको निर्णय कार्यन्वयन नगर्दा पार्टीमा विवाद उत्पन्न भएको प्रचण्डको भनाइ थियो। ‘यसअघि असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा निक्कै ठूलो विवाद भयो। कतिपय पार्टी फुट्ने भयो भनेर विश्लेषण गर्न थाले। हामीले बल्लबल्ल विवाद समाधान कार्यदल बनाएर समाधानको उपाय निकाल्यौँ,’ प्रचण्डको भनाई उद्धृत गर्दै अर्का स्थायी कमिटी सदस्यले भने, ‘भदौ २६ गतेको बैठकको निर्णय भएलगत्तै प्रधानमन्त्रीजीले उल्लंघन गर्न थाल्नुभयो। सहमति कार्यान्वयन गर्न चासो नै देखाउनु भएन। त्यसपछि सहमतिको कुनै अर्थ रहेन।’

अब भदौ २६ गतेको निर्णय वरिपरि फर्किएर पार्टी विवादको समाधान नहुने प्रचण्डको दाबी थियो। दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा पक्षमा प्रचण्ड-नेपाल समूह लागेका छन्।

पार्टी विवादका विषयमा लेखिएका पत्रहरु सार्वजनिक गरेर प्रधानमन्त्रीले नै सुरुमै ‘लेटर फायर ओपन’ गरेको प्रचण्डले बताए। ‘हामीले पार्टी बैठक माग गरेको पत्र उहाँ (केपी ओली)लाई बुझायौँ। उहाँले बैठक बोलाउने तत्परता देखाउनेभन्दा मलाई नै आरोपित गरेर १० पेजको पत्र लेख्नुभयो,’ उनले भने, ‘उहाँ (केपी ओली)ले मलाई आरोपित गरेको १० पेज पत्र सार्वजनिक गर्नुभयो। अन्तिमा हामीले पनि सार्वजनिक गर्नैपर्ने भयो। त्यसपछि एकपछि अर्को गर्दै पत्र सार्वजनिक हुन थाल्यो। खासमा पत्रको फायर ओपन उहाँले नै गर्नुभयो।’ पार्टीभित्र देखिएको विवाद बाहिर सार्वजनिक गर्ने मनसाय नभएपनि उहाँ (केपी ओली)ले फायर ओपन गरेपछि आफूहरु बाध्य भएको प्रचण्डको भनाइ छ।

स्थायी कमिटी बैठकमा एक घण्टा भन्दा लामो वक्तव्य दिएका प्रचण्डले पार्टी एकता, भदौ २६ गतेयता भएको विवाद र पत्रयुद्धका विषय विस्तार गरेका थिए। बैठकमा प्रचण्डले पार्टी एकता जोगाउन आफूले हरसम्भव प्रयास गरेको बताए। पछिल्लो समय राजावादी शक्तिहरुले गरेको प्रर्दशनका विषयमा समेत प्रचण्डले चिन्ता व्यक्त गरेका थिए। आइतबारको बैठकमा प्रचण्डले मात्रै बोलेका थिए।

बैठकमा उनुपस्थित भएका ओलीले लेखेको पत्र ईश्वर पोखरेलले वाचन गरेर सुनाएका थिए। ओलीको पत्रमा निर्वाचनअघि प्रधानमन्त्रीको पद र महाधिवेशनअघि अध्यक्ष छोड्न नसक्ने उल्लेख छ। प्रचण्ड-नेपालप्रति लक्षित गर्दै ओलीले पार्टी स्थायी कमिटीको बैठक राखेर आफूलाई हटाउन चालबाजी खेलेको आरोप लगाएका छन्। नेपाल लाइभ

  • २१ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech