१३ बैशाख २०८१, बिहीबार

प्रचण्ड-नेपालको जोड:ओलीलाई बैठकमा बोलाएर आफ्ना कुरा सुनाउने
  • न्युज मानसराेवर

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री बैठकमै उपस्थित हुन छाडेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई बैठकमा उपस्थित गराउने विषयलाई प्राथमिकतामा राखेका छन् । ओलीलाई बैठकमा बोलाएर आफ्ना कुरा सुनाउने उनीहरुको जोड छ।

सरकार र पार्टीका विषयमा उठेका प्राय सबै विषय ओलीसँग जोडिएकाले उनलाई बैठकमा नराखे औचित्य नहुने एक सचिवालय सदस्यले बताए। ‘सरकार र पार्टीसँग जोडेर प्रतिवेदन, पत्र आदानप्रदान भएका छन्। ती सबै विषय केपी कमरेडसँग जोडिएका छन्’ ती सचिवालय सदस्यले भने, ‘उहाँ९केपी ओली०ले आएर हाम्रा कुरा सन्नुपर्‍यो, छलफलमा सहभागी हुनुपर्‍यो। त्यसको जवाफ दिनुपर्‍यो। जवाफ चित्त बुझ्दो नआए के गर्ने भन्ने कुरा तपसिलका विषय भए।’

पार्टीमा बढी जवाफदेही पहिलो नम्बरका अध्यक्ष हुनुपर्नेमा उल्टै आफूहरु हुनु परेको ती सचिवालय सदस्यको भनाइ छ। ‘पहिलो नम्बरको अध्यक्ष सबैभन्दा धेरै जवाफदेही र जिम्मेवार हुनुपर्ने हो । पार्टीलाई विभाजनबाट रोकेर एकतावद्ध बनाउन लाग्नुपर्ने हो ’ उनले भने, ‘उल्टै पहिलो नम्बरका अध्यक्षले पार्टी विभाजन गर्छु । बहुमतको निर्णय मान्दिन भनेर अनेक धम्की दिनुहुन्छ ।’

यसअघि बसेको सचिवालय बैठकमा ओलीलाई प्रचण्डले फकाएर बैठकमा सहभागी गराएका थिए। त्यहीँ बैठकबाट स्थायी कमिटी बैठकको मिति तय भएको थियो। तर, गत २१ मंसिरको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएपछि धेरै विषय यथावतै भएका थिए। अब बस्ने स्थायी कमिटी बैठकमा ओलीलाई समेत सहभागी गराई छलफल गर्ने प्रचण्ड–नेपाल पक्षको रणनीति छ।

तर, अब २८ गते बस्ने बैठकमा सहभागी हुनेबारे ओलीले अझै मुख खोलेका छैनन्। तर, प्रचण्ड–नेपाल पक्ष उनी बैठकमा सहभागी हुनेमा आशावादी देखिएका छन्। ‘हाम्रो सबैभन्दा पहिलो प्राथमिकता केपी कमरेडलाई बैठकमा सहभागी गराउने भन्ने हुन्छ’ ती सचिवालय सदस्यले भने, ‘उहाँ (केपी ओली) बैठकमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ। बैठकमा सहभागी नभए पार्टी अनिर्णयको बन्दी बन्दैन, निर्णय गरेर अगाडि बढ्छ।’

उसद ओली बैठकमा सहभागी नहुने र पार्टीमा निर्णय गरेर जानुपर्ने अवस्था आए परिस्थिति सहज नहुने ती सचिवालय सदस्यको आँकलन छ। ओली बैठकमै आउन नमानेपछि मात्रै दोस्रो कदम चाल्नेमा प्रचण्ड–नेपाल छन् । दोस्रो कदममा प्रचण्ड–नेपाल अल्पमत र बहुमतका आधारमा निर्णयगरी अगाडि बढ्ने रणनीतिमा लागेका छन् ।

पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमत भएकाले ओलीले बैठक टार्न खोजेका छन्। बैठकबाटै अल्पमत–बहुमतको निर्णय गराएर आफूलाई हटाउन सक्ने भय उनको मनमा परिरहेको छ । त्यो भयबाट उम्किन उनले बैठक रोक्न अनेक बहाना झिकिरहेको नेताहरुको भनाइ छ। नेपाल लाइभ

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech