४ बैशाख २०८१, मंगलवार

फुटबल च्याम्पियन्स लिग ड्र आज, के छ सम्भावना?
  • न्युज मानसराेवर

काठमाडौं- युइएफए च्याम्पियन्स लिगको यो सिजन अन्तिम १६ मा हुने खेलहरुको तय सोमबार हुनेछ। नेपाली समयअनुसार दिउँसो पौने ५ बजे सुरु हुने ‘ड्र’ अनुसार १६ टिमहरु कोविरुद्ध को पर्नेछन् भन्ने टुंगो लाग्नेछ।

आउने फेब्रुअरीमा हुने अन्तिम १६ खेलका लागि तालिका तय गर्न समूह चरणको खेलमा शीर्षमा रहेर पुगेका र दोस्रोमा रहेर पुगेका टिमलाई दुई भागमा राखिएको छ। पहिलो लेगको खेल फेब्रुअरी १६, १७, २३ र २४ मा हुनेछन् भने दोस्रो लेगको खेल मार्च ९, १०, १६ र १७ मा हुनेछन्।

समूह विजेताका रुपमा बायर्न म्युनिक, बोरुसिया डोर्टमुन्ड, चेल्सी, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, पिएसजी र रियल मड्रिड अघि बढेका हुन्। यस्तै समूह उपविजेताका रुपमा एटलान्टा, एथ्लेटिको मड्रिड, बार्सिलोना, बोरुसिया मोन्चेनग्लादबाख, लाजियो, लाइपजिग, पोर्टो र सेभिया अघि बढे।

खेल तालिका सार्वजनिक हुँदा यिनै दुई भागमा रहेका टिमहरु एकअर्काविरुद्ध पर्नेछन्। खेल तालिकाका लागि समूह विजेता एक टिमले समूह उपविजेता भएर गएको कुनै टिमसँग खेल्नुपर्नेछ। तर एउटै समूहबाट अघि बढेका र एउटै देशको लिग खेल्ने टिम एकअर्काविरुद्ध अन्तिम १६ मा भेटिने छैनन्।

उदाहरणका लागि बार्सिलोना अन्तिम १६ को तालिकामा आफ्नै समूहबाट अघि बढेको युभेन्टस र ला लिगाकै टिम रियल मड्रिडविरुद्ध छनोट हुने छैन। त्यसबाहेक बायर्न म्युनिक, बोरुसिया डोर्टमुन्ड, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र पिएसजीमध्ये एक टिम बार्सिलोनाको प्रतिस्पर्धी हुनेछ।

यस्तै समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको रियल मड्रिडले पोर्टो, लाजियो, लाइपजिग र एटलान्टामध्ये एक टिमसँग खेल्नुपर्नेछ। किनभने समूह

उपविजेतामा तीन टिम बार्सिलोना, सेभिया र एथ्लेटिको मड्रिड ला लिगाकै टिम हुन् भने एउटै समूहबाट अघि बढेको मोन्चेनग्लादबाखसँग पनि पर्ने छैन।

खेल हुँदा समूहबाट उपविजेता भएर अन्तिम १६ मा पुगेको टिमले पहिलो खेल घरेलु मैदानमा खेल्नेछ भने विजेताका रुपमा अन्तिम १६ मा पुगेको टिमले पहिलो खेल अवे मैदानमा खेल्नेछ। नेपाल लाइभ

  • २९ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech