१४ बैशाख २०८१, शुक्रबार

नेता-कार्यकर्ता लाखापाखा, गुटका नेता एक्लै
  • न्युज मानसराेवर

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा‘बादल’ निकट धेरै नेता–कार्यकर्ता लाखापाखा लागेका छन्। उनीहरु कुनै पनि पक्षमा नखुलेपछि उनीहरु निकट नेता–कार्यकर्ता आ–आफ्नो कित्ता ‘क्लियर’ गरेर आफ्नो बाटो लागेका हुन्।

गौतम निकट केन्द्रीय सदस्य २६ जनाभन्दा बढी भए पनि उनीसँग अब चार जनामात्रै छन्। कित्तामा आउने जाने क्रम केही दिन चलिरहने भएकाले यसैलाई नै अन्तिम भन्न नसकिने गौतमनिकट केन्द्रीय सदस्य बलराम बास्कोटाले बताए। बास्कोटा गौतमनिकट मानिए पनि अहिले प्रचण्ड–नेपाल कित्तातिर लागेका छन्।

पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयास गर्ने भन्दै गौतमले फुटको साक्षी नबन्ने भनेर कतै नखुलेर बीच धारमा बसेका छन्। गौतमलाई फकाउन ओली तथा प्रचण्ड-नेपालले निक्कै मिहिनेत गरेका छन्। तर, गौतम दुवै पक्षको भेलामा नगई तटस्थ बसेका छन्। गौतमको पक्षमा हरिप्रसाद पराजुली भूपेन्द्रबहादुर थापा, गणेश ठगुन्ना र तुलसा थापामात्रै छन् । गौतम निकट केन्द्रीय सदस्य धेरैजसाे प्रचण्ड–नेपालतिर भए पनि केही ओली कित्तातिर पनि लागेको बास्कोटाले बताए।

यस्तै बादललाई साथ दिनेमा अब केन्द्रीय सदस्य सूर्यप्रकाश सुवेदी मात्रै बाँकी छन्। प्रमुख राजनीतिक सल्लाहकार भएकाले पनि उनले बादललाई नछाडेको बताइएको छ। बादललाई फकाउन ओलीभन्दा प्रचण्डले निक्कै मिहिनेत गरेका छन्। बादललाई फकाउन प्रचण्ड सोमबार र मंगलबार उनकै निवास पुल्चोक पुगेका थिए।  यस्तै केन्द्रीय कमिटी बैठक बस्नुअघि ओलीले पनि बादललाई निवासमै गएर भेटेका थिए। पार्टी विवादमा आफूलाई साथ दिन ओलीले आग्रह गरेका थिए। ओलीले उनलाई केन्द्रीय कमिटी बैठकमा पेश हुने प्रतिवेदन लेख्नसमेत आग्रह गरेका थिए। बुधबार फेरि बादलले ओलीलाई भेटेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर बादलले ओलीलाई भेटेर आफ्नो कुरा राखेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

पार्टी विभाजन नै भईसक्दासमेत बादलले कता लाग्ने भन्नेमा अझै कित्ता क्लियर गरेका छैनन्। उनीनिकट धेरै केन्द्रीय सदस्य प्रचण्डतिर लागेकाले उनीमाथि दबाब बढ्दै गएको छ। कतै नखुलेका गौतम र बादलले गत बिहीबार भेट गरेका थिए। बादल गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरु कुन कित्तामा लाग्छन् भन्ने विषयलाई पछिल्लो समय कम महत्व दिन थालिएको छ। उनीहरु निकट नेता–कार्यकर्ता लाखापाखा लागिसकेकाले उनीहरुको महत्व घट्दै गएको हो। गौतम र बादल कतै नखुलेपछि उनी निकट नेताहरुले आलोचना गरेका छन् । संकटमा शीघ्र निर्णय गर्नुपर्ने नेताले अलमल गर्न थालेपछि उनी निकट कार्यकर्ता चिढिएका हुन्। नेपाल लाइभ

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech