१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, ८ मन्त्री र १ राज्यमन्त्री थपिए
  • न्युज मानसराेवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । साथै, केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभाजन भएको थियो । र, प्रचण्ड–माधव समूहमा रहेका ७ मन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रबार आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएर मन्त्रिपरिषद विस्तार गरेका छन् ।

थपिएका ८ मन्त्रीमध्ये ५ जना प्रचण्डलाई छाडेर ओली समूहमा लागेका नेताहरु छन् । प्रचण्डलाई छाडेर ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्री भएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, साहलाई सहरी विकास, चौधरीलाई श्रम र लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेकपा फुट्दा रायमाझी र थापा ओलीतिर लागेका थिए भने साह प्रचण्ड–माधव समूहमा । रामबहादुर थापा बादल निकट रहेका लामा बिहीबार मात्र प्रचण्ड–माधव समूहको बैठकमा पुगेका थिए । तर शुक्रबार ओली समूहमा आएर मन्त्री बनेका छन् ।

यस्तै प्रेमबहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छन् ।

जुली स्थायी कमिटी सदस्य रघुवीर महासेठकी पत्नी समेत हुन् । नेकपा विभाजन हुँदा उनी ओली समूह छाडेर प्रचण्ड–माधवतिर लागेका थिए । ७ पुसमा त्यो समूहको स्थायी कमिटी बैठकमा सहभागी भएका उनी फेरि ओली समूहमा फर्किएका थिए ।

यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । सबैले शुक्रबार सपथ दिएका छन् ।

मन्त्रालय हेरफेर

नयाँ मन्त्रीहरु आएसँगै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामा पुगेका छन् । यस्तै, गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएपछि हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा पुगेका छन् ।

स्वास्थ्यमा रहेका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको छ ।

जुलीकुमारी महतोले महिला, बालबालिका लिँदा लीला श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । कानूनमा रहेकी डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र त्यहाँ रहेकी पद्मा अर्याललाई कृषिको जिम्मेवारी दिइएको छ ।

मन्त्री र राज्यमन्त्री हटाइयो

संसद विघटनको विरोधमा ७ मन्त्रीले राजीनामा दिएका थिए । तर ८ मन्त्री र एक राज्यमन्त्री थपेपछि प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् ।

उनले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योेग राज्यमन्त्री मोती दुगडलाई हटाएका हुन् ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

अनलाइन खबर बाट साभार

 

  • १० पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech