बुटवल। प्रदेशमा प्रभावशाली मानिएका केन्द्रीय स्तरका नेताले लुम्बिनी प्रदेशमा पनि माधव नेपालको साथ छोडेका छन् । नेपाललाई साथ दिँदै आएका पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य ठाकुर गैरे, सोमप्रसाद पाण्डेलगायत एमालेमै रहेका हुन् ।
प्रभावशालीले नै साथ छोडेपछि लुम्बिनीमा नेकपा एमाले समाजवादी कमजोर बनेको छ । ज्ञवाली र भुसाल रूपन्देही, विष्ट गुल्मी, गैरे र पाण्डे पाल्पाका हुन् । युवा र जनस्तरमा राम्रो प्रभाव रहेकाले पनि उनीहरूको साथ हुँदा नेपाल बलियो थिए । राष्ट्रिय नेताले साथ छोडेपछि जिल्ला र स्थानीय तहमा पनि नेपाल समूह कमजोर बन्ने विश्लेषण छ ।
लुम्बिनीबाट नेकपा एमाले समाजवादीमा रूपन्देहीका बेदुराम भुसाल, विजय पौडेल, गुल्मीकी रामकुमारी झाँक्री, दाङका मेटमणि चौधरी सहभागी छन् ।
सचिव विष्टले १० बुँदे सहमतिलाई इमानदारीसाथ कार्यान्वयनमा लैजाने गरी तत्कालका लागि पार्टी फुटमा नलाग्ने निर्णय गरेको बताए । ‘पार्टीमा १० बुँदेलाई अक्षरश: कार्यान्वयन गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘जिल्ला र स्थानीय तहसम्मै त्यसको कार्यान्वयनका लागि पार्टीभित्रै दबाब दिन्छौं ।’ पार्टी फुटमा संलग्न हुँदा कम्युनिस्ट आन्दोलन नै कमजोर हुने उनले बताए । विष्टलाई जिल्ला तहबाट पनि फुटको पक्षमा नलाग्न स्थानीय नेतृत्वले दबाब दिँदै आएका थिए । विष्ट गुल्मी निर्वाचन क्षेत्र नं. २ मा राम्रो प्रभाव भएका नेता मानिन्छन् ।
विष्टले जस्तै माधव समूह छोडेका अधिकांश नेताले आफ्नै राजनीतिक क्षेत्र र भूगोललाई हेरेर निर्णय लिएका छन् । स्थानीय स्तरमा पुराना नेता कार्यकर्ता एमाले छोडेर जान चाहेको देखिएको छैन । लुम्बिनी प्रदेशका धेरै जिल्लामा पार्टी एकता कायम राख्ने भन्दै यसअघि पनि दुवै समुहले त्यसैअनुसार विज्ञप्ति जारी गर्ने गरेका थिए । जिल्ला तहका नेता र कार्यकर्ताको दबाबका कारण पनि केन्द्रीय नेताले नयाँ पार्टी रोज्न नसकेका हुन् ।
केही जिल्ला नेता भने नयाँ पार्टी गठनमै संलग्न हुने भन्दै क्रियाशील भएका छन् । नेपाल समूहका रूपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले एक साताअघि नै जिल्ला कमिटी बैठक बसेर नयाँ पार्टी गठन र निर्माण प्रक्रिया अघि बढेकाले आफू नयाँ पार्टीमै क्रियाशील भइसकेको बताए । ‘अरू के गर्छन् भन्ने होइन,’ उनले भने, ‘हामीले नयाँ पार्टी निर्मण सुरु गरिसकेका छौं ।’
अहिलेसम्म नेपाल समूहमै क्रियाशील रहेका दाङका जिल्ला अध्यक्ष टीकाराम खड्काले पनि उक्त समूह छाडेका छन् । भएकै पार्टीभित्र संघर्ष गर्दै अघि बढ्नुपर्नेमा विभाजन गर्नु राम्रो नभएको उनको तर्क छ । ‘अहिलेसम्म संघर्षकै कुरामा अडान राख्दै आएको थिएँ,’ उनले भने, ‘तर, पार्टी नै फुटाउने अवस्थामा पुगेपछि नयाँ पार्टीमा लाग्न सम्भव छैन ।’