काठमाडौं- नेकपा (एमाले) विभाजनपछि दुवै समूहमा नलागेका नेताहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले १४ जना सांसदमाथि गरेको कारबाही खारेज हुनुपर्ने निर्णय गरेको छ। बैठकपछि नेता भीम रावलले उक्त जानकारी दिएका हुन्।
बैठकले ओलीलाई १० बुँदे सहमति अक्षरश: लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको उनले बताए।
नेता रावलले दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बैठकको निर्णय सुनाए। ‘अहिले २० प्रतिशत भएमा दल विभाजन हुनेगरी ल्याएको अध्यादेश खारेज हुनुपर्छ। यसअघि सबै दलसँग सहमति गरेर ४० प्रतिशतको प्रावधान राखिएको थियो,’ उनले भने।
बैठकले पार्टीका नेता र कार्यकर्ताहरुबीच एकले अर्कालाई असभ्य र अशिष्ट शब्दको प्रयोग गर्ने क्रम देखिएकाले त्यसलाई अबिलम्ब रोक्न पहल गर्नुपर्ने र त्यसका लागि दुवैपक्षको ध्यानाकर्षण गराउनुपर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।
आजको बैठकमा ५७ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ। दुवैपक्षमा नलागेकाहरुको बैठक निरन्तर हुने रावलले जानकारी दिए। बैठकको निर्णयबारे केहीबेरमा लिखित धारणा पनि सार्वजनिक गर्ने बताइएको छ।