१२ श्रावण २०८१, शनिबार

डबल डिग्री थन्क्याएर केरा खेतीमा जमेका जनआन्दोलनका ‘जिउँदो शहीद’ आचार्य
  • न्युज मानसराेवर

धनगढी। अधिकांश व्यक्तिले राजनीतिलाई सेवा होइन, पेशा एवं व्यापारको रूपमा अँगालेको उदाहरण नेपाली समाजमा धेरै पाइन्छ । जुन कारण राजनीति विकृत बनेको छ ।

तर समाजमा त्यस्ता व्यक्ति पनि छन्, जसले राजनीतिलाई सेवाको रूपमा अगाडि बढाएका छन् । बरु आफ्नो जीविकोपार्जनको लागि सँगै अन्य व्यवसाय गर्दै आएका छन् ।

सक्रिय राजनीतिसँगै व्यवसायीमा जमेका व्यक्ति हुन् कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीका ३७ वर्षीय लक्षीराम आचार्य ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, कानूनमा स्नातक गरेका आचार्य केही वर्षदेखि व्यावसायिक केराखेतीमा जमेका छन् ।

राजनीतिलाई कमाइखाने भाँडो बनाएकोमा उनलाई पटक्कै चित्त बुझ्दैन । राजनीति गर्नेहरू भ्रष्टाचार र विकृतिमा मुछिएको, कसैमा पनि निष्ठा नरहेको देखेपछि उनलाई राजनीतिप्रति वितृष्णा पनि उत्तिकै जागेको छ । अर्कोतिर परिवारप्रतिको जिम्मेवारीले पनि व्यावसायिक कृषितर्फ अग्रसर भएका छन् ।

‘उमेर छिप्पिँदै गएको छ, छोराछोरी हुर्किंदैछन्,’ आचार्य भन्छन्, ‘उनीहरूलाई पढाउन र घर चलाउन त राजनीतिले सकिँदैन नि ! त्यसैले केरा खेती थालेको हुँ ।’

सरकारले स्वदेशमा केही गर्न चाहनेलाई युवालाई नीतिगत र व्यावहारिक रूपमै ढाँटिरहेको उनको गुनासो छ ।

वार्षिक २० लाख बचत

हाल राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिव रहेका आचार्य आफ्नो राजनीतिक जीवनमा ५७ पटकसम्म गिरफ्तारीमा परेका छन् तर ९ वर्षअघि प्राध्यापन र सक्रिय राजनीति छाडेर पूर्णकालीन किसान बनेका हुन् । केराखेतीमा उनी सफल पनि बनेका छन् ।

अहिले केरा खेतीबाटै सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्छन् उनी । ८ वर्षअघि केराखेती शुरू गरेका उनको लगानी अहिले झण्डै १ करोड रुपैयाँ पुगिसकेको छ । गोदावरी नगरपालिका–६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यले आम्दानी बढ्दै गएपछि थप ७ बिघा जमिन लिजमा लिएका छन् ।

त्यो पीएचडी सपना

उसो त पढाइमा पनि औधी रुचि राख्ने व्यक्ति हुन् उनी । आचार्यले २०६९ सालमा विद्यावारिधि (पीएचडी) मा छात्रवृत्ति पाउन निकै कसरत गरे ।

‘त्रिवि मानविकी तथा समाजशास्त्र संकायका तत्कालीन डीनले कुन पार्टीको हो भनेर सोध्नुभयो,’ आचार्य भन्छन्, ‘मैले कांग्रेस, माओवादी, एमाले होइन । अरू भन्नुपर्छ भन्दा उहाँ मुसुमुसु हाँस्नुभयो ।’

उनले पैसा तिरेर पढ्नसक्ने अवस्था थिएन, छात्रवृत्ति पाएनन् । आचार्यका बुवा तत्कालीन एमालेका जिल्ला नेता ७३ वर्षीय पराशर आचार्य अहिले पनि एमालेमै आबद्ध छन् । छोरा अर्को पार्टी राष्ट्रिय जनमोर्चामा लागेपछि बुवाले उच्च शिक्षा अध्ययनका लागि सहयोग नगरेको उनी बताउँछन् ।

‘त्यसपछि पीएचडी सपना छाडेर फर्किएँ । त्यसै वर्षदेखि कैलालीको गेटामा जग्गा लिजमा लिएर केराखेती शुरू गरें,’ उनले भने ।

केरा आन्दोलन

आचार्यले केराखेती शुरू गर्दा कैलाली–कञ्चनपुरमा केराखेती न्यून थियो । अहिले व्यावसायिक केराखेती गर्ने किसानको संख्या उल्लेख्य छ ।

पहिले विना परीक्षण भारतीय केरा आयात हुन्थ्यो । नेपालमा केरा उत्पादन बढी भएका बेला भारतीय व्यापारीले मूल्य घटाएर नेपाल पठाउँथे । उत्पादन कम भएका बेला मूल्य बढाउँथे ।

भारतीय केराको निर्बाध आयातमा रोक लगाउनुपर्ने माग गर्दै आचार्यले आन्दोलन थाले । शुरूमा कैलाली र कञ्चनपुरका केरा किसानलाई भेला गर्दै आन्दोलन थालेका उनले बिस्तारै कञ्चनपुरदेखि झापासम्मका केरा किसानलाई एकै थलोमा जम्मा गरे ।

अन्ततः केरा किसानको आन्दोलनले सफलता पायो । अहिले भारतबाट केरा आयात गर्दा क्वारेन्टीन जाँच गर्नुपर्ने नियम लगाइएको छ ।

आचार्य भन्छन्, ‘सन्तुष्ट छु, आफूले गरेको आन्दोलनले किसानलाई फाइदा पुगेको छ ।’

विद्यार्थीकालदेखि राजनीति

कैलालीको चुरे गाउँपालिका–१ मा जन्मेका आचार्य ५ कक्षामा पढ्दादेखि नै राजनीतिक दलका पोस्टर टाँस्दै हिँड्थे । २०५१ सालको आमनिर्वाचनमा उम्मेदवारहरूको प्रचारमा पोस्टर टाँसेको सम्झँदै आचार्य भन्छन्, ‘पारिवारिक पृष्ठभूमि तत्कालीन एमाले निकट थियो । त्यसकारण पनि राजनीतिक झुकाव कम्युनिस्टतिरै भयो ।’

७ कक्षा पढ्दै गर्दा उनले अखिल क्रान्तिकारीको सदस्यता लिए । २०५७ सालमा धनगढीमा भएको अनेरास्ववियू छैटौंको राष्ट्रिय सम्मेलनबाट उनी राष्ट्रिय जनमोर्चामा जोडिए । त्यसपछि तत्कालीन माओवादीमा आबद्ध भए ।

२०५८ सालमा सरकार र तत्कालीन माओवादीबीच वार्ता चलिरहँदा उनले माओवादी परित्याग गरेर राष्ट्रिय जनमोर्चामै संलग्न भए ।

उनी भन्छन्, ‘संविधान सभाको माग गर्नकै लागि किन युद्ध गर्नुपर्‍यो, लाखौं मान्छे किन मार्नुपर्‍यो भनेर माओवादीबाट अलग भएँ ।’ राजनीतिक जीवनकै क्रममा आचार्यले निकै दर्दनाक घटनाको सामना समेत गर्नुपरेको थियो ।

प्रहरीको कुटाइले ७ दिनसम्म बेहोस

२०६२/०६३ सालको जनआन्दोलनताकाको घटना स्मरण गर्दै उनले भने, ‘जुलुस धनगढी क्याम्पस चोकबाट चौराहातिर बढ्दै थियो । जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा प्रहरीले काँडेतार तेस्र्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुग्दा प्रहरी र आन्दोलनकारीबीच झडप भयो । गोली चल्यो, बारुडको छर्राले रौं जल्यो मेरो । भागाभाग भयो । १०–१५ जना प्रहरीको समूहले घेरा हालेर कुट्नसम्म कुटे । नजिकैको बाँसको झाँडीमा हाम फाले । बेहोस भएछु ।’

२०६२/०६३ सालको जनआन्दोलनताका उनी संयुक्त विद्यार्थी जनआन्दोलन परिचालन समिति कैलालीका संयोजक थिए । चैत २८ गते विशाल जुलुसको नेतृत्व गरिरहँदा प्रहरीको कुटाइबाट उनी बेहोस भएका हुन् ।

‘७ दिनपछि होस खुल्दा आफूलाई भारतको लखनऊस्थित स्वामी विवेकानन्द हस्पिटलमा पाएँ,’ उनले अगाडि थपे, ‘मरेर बाँचेछु, राजतन्त्रविरुद्ध एवं लोकतन्त्र र गणतन्त्रको लागि जनताले निकै संघर्ष र त्याग गरे ।’

उनलाई २०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०६३ सालमा कैलालीको साविक चौमाला गाउँ परिषद्ले ‘जिउँदो शहीद’को रूपमा सम्मान गरेको थियो ।

सानैदेखि पढाइमा अब्बल आचार्यले ‘प्लस टु’ पढ्दै गर्दादेखि पढाउन पनि शुरू गरिसकेका थिए ।

पढाइ, राजनीति र जागिरमा समय मिलाउन नसकेपछि कुचैनीस्थित शिव नमूना निमाविको शिक्षक पदबाट उनले राजीनामा दिए ।

आचार्य भन्छन्, ‘त्यसपछि पनि प्राध्यानाध्यापक र क्याम्पस प्रमुख बन्ने प्रस्ताव आएका थिए तर मलाई लाग्छ, कृषि पेशा झन् खुला विश्वविद्यालय नै हो । यस क्षेत्रमा पनि धेरै काम गर्न सकिन्छ ।’

सरकारले हेर्दैन

२०७४ सालमा हावाहुरीका कारण आचार्यको फार्ममा ७० लाख रुपैयाँको बराबरको केरा नष्ट भयो तर उनले सरकारबाट राहत सहयोग पाएनन् । अहिले नगरपालिकाबाट पनि सहयोग, सल्लाह र सुझाव नपाएको उनको गुनासो छ ।

आफ्नै बलबुतामा केरा खेती गरिरहेका आचार्य यही खेतीलाई अझै विस्तार गर्ने सोचमा छन् । भन्छन्, ‘केरा खेतीमै सन्तुष्ट छु, आफ्नै मेहनतले कमाएको छु । कमाइले परिवार पाल्ने मात्र होइन, अरुलाई पनि काम दिन सकेको छु ।’ उनको फार्ममा प्रत्यक्ष–अप्रत्यक्ष १५ जनाले रोजगारी पाएका छन् ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech