१२ श्रावण २०८१, शनिबार

१० बुँदे कार्यान्वयन गर्न एमालेले दियो नेताहरूलाई जिम्मेवारी
  • न्युज मानसराेवर

काठमाडौं– नेकपा एमालेले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले तयार पारेको दश बुँदे सहमतिलाई तल्लो तहसम्म कार्यान्वयन गरेर लैजान सातवटै प्रदेश र अन्य जनसंगठनमा नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। पार्टी अध्यक्ष केपीशर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन्।

पार्टीको पक्षमा रहेर क्रियाशिल हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी, जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई पार्टीको एकता र जीवन्तलाई ध्यान दिँदै एकीकरणको महान कार्य र भावनामा चोट नपर्ने गरी एकीकरण पूर्वको स्थिति अर्थात जेठ २ गतेको अवस्थामा फर्किएको यर्थाथलाई समेत ध्यानमा राखेर कार्य गर्न अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्।

एमालेका अनुसार प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरुका साथै जनसंगठनहरुमा नेकपा एमालेमा विद्यमान समस्या समाधानसम्बन्धी दश बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्ने नेताहरुको जिम्मेवारी निर्धारण गरेको हो।

प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्बाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वालाकुमारी साह, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेल, गण्डकी प्रदेशमा किरण गुङङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापालाई जिम्मेवारी तोकिएको छ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरी, कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मी, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापा तथा जनसंगठनहरुमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी तोकिएको छ ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech